दुःखकष्ट गरेर पहाडमा शान्ति फर्काएको छु। यदि यो शान्ति भङ्ग गर्न खोज्नुहुन्छ भने त्यस बेला मैले पनि कदम चाल्नुपर्नेछ: अनित थापा
दार्जिलिङ: बिहीवार राति रेलिङमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको दुई कार्यकर्तामाथि भएको हमलाको भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको अध्यक्ष अनित थापाले प्रतिक्रिया दिएका छन्। उनले प्रेस विज्ञप्ति जारी गर्दै भने, ‘हिजोको रेलिङमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका दुई कार्यकर्तामाथि हतियारको प्रहारको घटना स्थानीय स्तरमा घटेको रहेछ। घटनास्थलमा भाजपाको झण्डा पनि देखियो। अस्पतालमा गएर हेर्दा हतियारले ज्याकेटसम्म काटिएको देखियो। मैले बारम्बार भनिरहेको छु कि शान्तिसँग चुनाव लडौँ। हामी पनि चाहेको भए झमेला गर्न सक्थ्यौँ, तर मैले बारम्बार सबैलाई सम्झाएँ कि यसरी अशान्ति फैलाउनु हुँदैन। हाम्रा समर्थक तथा क्याडर कार्यकर्ताहरू पूरै आक्रामक भएका थिए। मैले सम्झाउँदै उनीहरूलाई थामेर राखेँ। यदि मैले खुला छोडिदिएको भए आज स्थिति फरक हुने थियो। उनीहरूले जुन व्यवहार देखाए, हामीले त्यस्तो व्यवहार देखाउनु हुँदैन। हामी कानुनअनुसार काम गर्नेछौँ।’
उनले अघि भने, ‘हामीले धेरै दुःखकष्ट सहेर पहाडमा शान्ति व्यवस्था फर्काएका छौँ। हामी कानुनी लडाइँ लड्नेछौँ।नेताहरूका कारण साधारण जनताले दुःख नपाओस्। जनताले पनि ध्यान दिनुपर्छ कि नेताका निम्ति यसरी आफ्नो ज्यान जोखिममा हाल्नु हुँदैन।
हिजो कसैको बहकाउमा आएर काटाकाट भएको होला, तर त्यसको परिणाम नेताले होइन, कार्यकर्ताले नै भोग्नुपर्छ। फेरि पुराना घटनाहरू दोहोरिन थालेको देखिँदैछ। हामी पछाडि फर्कने छैनौँ।’
थापाले अझ भने, ‘पहाडका मान्छेले बुझ्नुपर्छ कि भाजपाले आफ्नो झण्डा लगाएर यस्तो हिंसात्मक कार्य गर्दैछ भने भोलिको दिन के हुनेछ? हामी शान्ति चाहन्छौँ र शान्तिपूर्ण ढङ्गले चुनाव पनि लड्नेछौँ । यसलाई निरन्तरता दिनुपर्छ। मेरा कार्यकर्तालाई हिंसा गर्न, तोड्न, जलाउन वा काट्न कदापि दिने छैन।’
अनित थापाले भने, ‘विपक्षीका लागि पनि म भन्छु कि प्रचार गर्दा कसैलाई होच्याउने, अपमानजनक कुरा गर्ने वा उक्साउने काम नगर्नुहोस्। शान्तिसँग चुनाव लड्नुहोस्, भोट माग्नुहोस्, जित्नुहोस् र सरकार बनाउनुहोस्। दुःखकष्ट गरेर पहाडमा शान्ति फर्काएको छु। यदि यो शान्ति भङ्ग गर्न खोज्नुहुन्छ भने त्यस बेला मैले पनि कदम चाल्नुपर्नेछ।’











