नयाँ दिल्ली: इरान र अमेरिका–इजरायलबीच भएको १४ दिने युद्धविरामको सहमति १२ घण्टा पनि टिक्न सकेन। बुधबार बिहान शान्तिको आशा जगाउँदै गरिएको युद्धविरामको घोषणालाई लत्याउँदै इजरायल र अमेरिकाले इरानको ठूलो तेल रिफाइनरीमा आक्रमण गरेपछि मध्यपूर्व पुनः युद्धको भुमरीमा फसेको छ।
इरानको कडा प्रतिवाद
आफ्नो तेल भण्डारमा हमला भएलगत्तै इरानले छिमेकी खाडी मुलुकहरू संयुक्त अरब इमिरेट्स (यूएई) र कुवेतमाथि मिसाइल तथा ड्रोन प्रहार सुरु गरेको छ। अमेरिकी सैन्य अखडालाई आफ्नो भूमि प्रयोग गर्न दिएको र त्यहीँबाट इरानमाथि आक्रमण भएको भन्दै तेहरानले ती देशहरूलाई निशाना बनाएको हो। बुधबार साँझदेखि सुरु भएको यो प्रत्याक्रमणले यस क्षेत्रमा ठूलो मानवीय र आर्थिक संकट निम्त्याउने संकेत गरेको छ।
कच्चा तेलको मूल्य बढ्यो, विश्व बजारमा त्रास
युद्धविराम भंग भएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा एकाएक वृद्धि भएको छ। केही समयदेखि घटिरहेको तेलको भाउ समाचार सार्वजनिक भएको केही मिनेटमै १ प्रतिशतभन्दा बढीले बढेको छ। युद्ध लम्बिँदै गएमा तेलको मूल्यले ‘यू-टर्न’ लिने र यसले विश्वभर महँगी बढाउनुका साथै सेयर बजारमा भारी गिरावट ल्याउने निश्चित देखिएको छ। दुई हप्ताको शान्ति सम्झौता १२ घण्टा पनि नटिक्दा कूटनीतिक प्रयासहरू समेत असफल सावित भएका छन् ।










