म जितेर गएपछि अव्यवस्थित अस्पताललाई सुव्यवस्थित बनाउन काम गर्नेछु: बन्दना राई
खरसाङ: खरसाङ विधानसभा समष्टिको लागि ईण्डियन गोर्खा जनशक्ति फ्रण्टकी उम्मेद्वार बन्दना राईले आज बिहानको समयमा आफ्नो चुनाव प्रचारको क्रममा खरसाङ महकुमा अस्पतालको भ्रमण गरेकी छन्। उनीसित ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको खरसाङ क्षेत्रका पदाधिकारीहरु र कार्यकर्ताहरु उपस्थित रहेका थिए। बन्दना राईले खरसाङ महकुमा अस्पतालमा रहेका विभिन्न समस्याहरु र असुविधालाई लिएर निरीक्षण गरेकी छन्। उनले अस्पतालको ओपीडी सेवा लगायत विशेषज्ञ डाक्टरहरु, आवश्यक मशीनहरु नभएको, अस्थायी कर्मचारीहरु लामो समयदेखि स्थायी नभएको, अस्पताल व्यवस्थित नभएको भन्दै अस्पतालको विभिन्न कक्षाहरुको निरीक्षण भ्रमण गरेका छन्। ईण्डियन गोर्खा जनशक्ति फ्रण्टकी उम्मेद्वार बन्दना राईले खरसाङ महकुमा अस्पतालको भ्रमण गरेपछि बाहिर आएर पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ महकुमा अस्पतालको पुरानो समस्या अहिले पनि यथावत् रहेको बताइन्। उनले अस्पताल विषयमा भनिन् -‘अस्पतालमा चाहिने सठीक मशीनहरु छैन, वर्तमान टेक्नोलोजी छैन, यहाँ विशेषज्ञ डाक्टरहरु छैनन्, यहाँ अस्थायी कर्मचारीहरु बेसी छन् जसको लामो समयदेखि स्थायी भएका छैनन्। हामी खरसाङकै स्थायी वासिन्दा हौँ, अस्पतालमा व्यवस्थित छैन, सही रुपमा विकसित भएको छैन। यसको समस्या समाधान किन हुँदैन? किन विकसित भएको छैन? ओपीडी ढंगको छैन, टाइम म्यानेजमेन्ट छैन’
एक प्रश्नको उत्तर दिन्दै बन्दना राईले आफु विधानसभामा विधायक भएर गएको खण्डमा खरसाङ महकुमा अस्पताललाई सुव्यवस्थित बनाउन काम गर्ने, अस्पताललाई विकसित गराउन सठीक रुपमा काम गर्ने, अस्पताललाई जनताको सुविधाका लागि प्रयोग गर्न काम गर्ने योजना रहेको पनि बताएकी छन्। उनले पत्रकारहरुले सोधेका प्रश्नको उत्तर दिन्दै भने, खरसाङ अस्पतालका अस्थायी कर्मचारीहरु विगत २६ वर्षदेखि स्थायी भएका छैनन्। म यही खरसाङकै हुँ। मलाई र हामीलाई नै चाहिन्छ यो अस्पताल। म जितेर गएको खण्डमा खरसाङ महकुमा अस्पताललाई सुव्यवस्थित बनाउने योजना छ। म नियमित रूपमा अस्पतालको निरीक्षण गर्नेछु। किनभने यो महकुमा अस्पताल हाम्रो सम्पत्ति हो। मेरो मुद्दा पनि स्वास्थ्य, धन र शिक्षा हो। स्वास्थ्य छ भने धन पनि हुन्छ र समाज शिक्षित हुन्छ।’
बन्दना राईले अझ भनिन्-‘हामीले विधायकलाई केवल भात खानु मात्रै जिताएर पठाएको होइन। विधायक बनाएको केवल रेस्ट गर्नु र निजी सम्पत्ति बढाउनु मात्र होइन। एकजना विधायकको काम केवल पोलिथिन बाँड्नु र फोटो खिँच्नु मात्र होइन।’










