गान्तोक: देन्ताममा आयोजन भइरहेको तीन दिवसीय दोस्रो अन्तरराष्ट्रिय तमु गुरूङ सम्मेलनको आज दोस्रो दिन गुरूङ जातिको सामाजिक परम्परा, भेषवूषा, साहित्य अनि भाषामाथि विस्तृत चर्चा परिचर्चा सम्पन्न भयो। विभिन्न देशका श्रोत वक्ताहरूले विभिन्न विषयहरूमाथि आ-आफ्नो कार्यपत्र प्रस्तुत गरे। आज राज्यका धेरै वक्ताहरूले सिक्किममा गुरूङहरूको वर्तमान अवस्थानबारे विस्तृत रुपमा चर्चा परिचर्चा गरे। सिक्किम विधानसभामा गुरूङ भाषाको अनुवादक रहेको कुरा सम्मेलनमा चर्चा भएपछि अन्तरराष्ट्रिय तमु काउन्सिलले यो कार्यको निम्ति सिक्किम सरकारको प्रशंसा गरेको छ। यसका साथै सिक्किमको पाठशालाहरूमा गुरूङ भाषा पठन पाठन गराउने कार्य थालनी गरेकोमा पनि सिक्किम सरकारले गरेको यो कार्यको निम्ति विभिन्न वक्ताहरूले सिक्किम सरकाको प्रशंसा गरे। आज गुरूङ समुदायमा रहिआएको विभिन्न सामाजिक चलनहरूमाथि गहिरो चर्चा-परिचर्चा सम्पन्न भयो। गुरूङ जातिमा भएको मामा अनि फुपुको परम्परा अब विस्तारै परित्याग गर्ने कुरा पनि चर्चामा उठान गरियो जसलाई सबैले सहमति पनि जनाएका छन्। यसको साथै गुरूङ भाषा साहित्यलाई अझ विकसित गरेर लैजाने हेतुले सभाले कार्य गर्ने पक्षमा निर्णय लिएको छ। आज दोस्रो दिन उद्यम अनि कला साहित्य, गीत संगीत अनि फिल्म विषयमा पनि विभिन्न श्रोत वक्ताहरूले आफ्नो विचार राखे।
आज चर्चा परिचर्चा भएका विषयहरूमा निर्क्यौल गरेर भोलि यसमा विधान पारित हुनेछ। ज्ञात रहोस्, तमु गुरूङ काउन्सिल, अल इण्डिया तमु गुरूङ बुद्धिष्ट एसोसिएशन अनि सिक्किमका सम्पूर्ण गुरूङ समुदायको संयुक्त तत्वावधानमा आयोजित तीन दिवसीय दोस्रो अन्तरराष्ट्रिय तमु गुरूङ सम्मेलनलाई हिज राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले उद्घाटन गरेका थिए।