गान्तोक: सिक्किम खो–खो सङ्घद्वारा आयोजित पहिलो राज्यस्तरीय खो–खो च्याम्पियनशिप–२०२६ आइतबार रेशिथाङस्थित खेलगाउँमा भव्य समापन तथा पुरस्कार वितरण कार्यक्रमसहित सम्पन्न भएको छ।
तीन दिनसम्म चलेको प्रतियोगिता ३ अप्रेलदेखि सुरु भएको थियो, जसमा राज्यका विभिन्न जिल्ला, विद्यालय र कलेजका खेलाडीहरूको सहभागिता रहेको थियो। प्रतियोगिताले युवाहरूमा स्वदेशी खेलप्रति बढ्दो आकर्षण, अनुशासन र खेलभावना झल्काएको आयोजकले जनाएको छ।
समापन कार्यक्रममा क्षेत्रीय विधायक तथा ग्रामीण विकास विभागकी सल्लाहकार कला राई प्रमुख अतिथिका रूपमा उपस्थित थिइन्। साथै राज्य खेलकुद विकास बोर्डका अध्यक्ष रिञ्जिङ वाङ्ग्याल छोपेल, राज्य युवा विकास बोर्डका अध्यक्ष बसन्त योञ्जन, हस्तकला तथा हस्तशिल्प निर्देशनालयका अध्यक्ष विक्रम गुरुङ लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै विधायक राईले प्रतियोगिताको सफल आयोजनाका लागि आयोजकलाई बधाई दिँदै यस्ता पहलले परम्परागत खेलकुदको प्रवर्द्धन र युवा प्रतिभा विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताइन्। उनले खो–खोलाई सहनशीलता, टोलीभावना र अनुशासन विकास गर्ने महत्वपूर्ण खेलका रूपमा उल्लेख गरिन्।
उनले राज्यमा खेलकुद पूर्वाधार र अवसरहरू विस्तार हुँदै गएको उल्लेख गर्दै युवाहरूलाई यसको अधिकतम उपयोग गर्न आग्रह गरिन्। “मुख्यमन्त्री पीएस गोलेको नेतृत्वमा खेलकुद र युवा विकासमा उल्लेखनीय प्रगति भएको छ,” उनले भनिन्।
सिक्किम खो–खो सङ्घका अध्यक्ष बीके रोकाले प्रतियोगिताको सफलतामा सहयोग पुर्याउने सबैप्रति आभार व्यक्त गर्दै भविष्यमा अझ बृहत्तर स्तरमा प्रतियोगिता आयोजना गर्ने प्रतिबद्धता जनाए।
प्रतियोगिताको नतिजाअनुसार सब–जुनियर महिला वर्गमा सोरेङ जिल्ला विजेता र मङ्गन उपविजेता बने। नेहा रसाइली उत्कृष्ट डिफेन्डर र उमा प्रधान उत्कृष्ट अटेकर घोषित भए।
सब–जुनियर पुरुषतर्फ मङ्गन जिल्ला विजेता तथा नाम्ची उपविजेता बने। अमन भुजेल उत्कृष्ट अटेकर र कृष्ण नाथ उत्कृष्ट डिफेन्डर घोषित भए।
सिनियर पुरुष समूहमा सोरेङ जिल्ला विजेता र मङ्गन उपविजेता बने। सुमित लिम्बू उत्कृष्ट अटेकर तथा सुजल प्रधान उत्कृष्ट डिफेन्डर घोषित भए।
सिनियर महिला समूहमा मङ्गन जिल्ला च्याम्पियन र नाम्ची उपविजेता बने। तेजस्विनी लाम्बाकानी उत्कृष्ट डिफेन्डर तथा प्रिया छेत्री उत्कृष्ट अटेकर घोषित भए।
समापन समारोहमा विजेता टोली तथा उत्कृष्ट खेलाडीहरूलाई ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिएको थियो। साथै प्रतियोगिता सफल बनाउन योगदान पुर्याउने प्राविधिक अधिकारीहरूलाई पनि सम्मान गरिएको थियो।








