गान्तोक: सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले मङ्गन जिल्लाको तेस्रो तथा अन्तिम दिन चुङथाङस्थित ११ बटालियन आईटीबीपीको भ्रमण गरेका छन्। भ्रमणको अवसरमा राज्यपालले जवानहरूसँग संवाद गर्दै उनीहरूको साहस र समर्पणको खुलेर प्रशंसा गरे।
राज्यपाल माथुरले जवानहरूसँग अन्तरक्रिया गर्दै वर्तमान सुरक्षा परिस्थिति तीव्र रूपमा परिवर्तनशील रहेको र केन्द्र सरकारले रक्षा क्षमता सुदृढ गर्न पूर्ण ध्यान दिइरहेको बताए। उनले जवानहरूलाई आहार, बिजुली, संचार सुविधा र जीवन स्तरको गुणवत्ताबारे जानकारी लिए। जवानहरूले पछिल्ला एक दशकमा जीवनस्तरमा उल्लेखनीय सुधार भएको र विशेष गरी आधुनिक सैन्य उपकरण, गुणस्तरीय आहार र डिजिटलीकरणले सुधारमा ठूलो भूमिका खेलेको बताए।
जवानहरूलाई सम्बोधन गर्दै राज्यपालले भने, “तपाईहरू जोखिमपूर्ण परिस्थितिमा पनि देशको सुरक्षामा डटेर उभिनुभएको छ, यो तपाईहरूको साँचो कर्मठता हो। म यहाँ राज्यपालभन्दा बढी मित्रको भावले आएको छु, ताकि तपाईहरूको चुनौती बुझ्न र साहस तथा समर्पणको मनोबल बढाउन सकूँ।”
राज्यपालले विशेष गरी करेङ पोस्टमा १७ हजार फीटको उचाइमा तैनात जवानहरूको अनुशासन, धैर्य र समर्पणको प्रशंसा गरे। उनले आईटीबीपी जवान र महिला समूहको समर्पण सम्पूर्ण राष्ट्रका लागि प्रेरणास्रोत रहेको उल्लेख गर्दै नर्थ सिक्किमको सीमावर्ती सुरक्षा सुनिश्चित गर्न उनीहरूको योगदानको उच्च सराहना गरे।
भ्रमणको क्रममा राज्यपालले सीमा सडकका कर्मीहरूसँग पनि भेटेर प्रतिकूल मौसम र परिस्थितिमा उनीहरूको योगदानको कदर गरे। भ्रमणमा मङ्गन जिल्लाका जिल्लापाल अनन्त जैन, पुलिस अधीक्षक एलबी छेत्री, ११ बटालियन आईटीबीपी कमान्डेन्ट राजेश कुमार जोशी, एसडीएम सन्दिप कुमार, एसडीएम अरुण छेत्री लगायत अन्य अधिकारीहरू पनि उपस्थित थिए।











