सिलगढी: वर्तमान समयमा सिलगढी क्षेत्रमा डेङ्गु संक्रमितहरूको संख्या निक्कै बढेर गएको छ। डेङ्गुको कारण गत दिनहरुमा केही मानिसहरूको मृत्यु समेत भइसकेको छ।यसको रोकथाम गर्न सिलगढी नगरनिगम व्यर्थ भएको आरोप लगाउँदै भारतीय जनता युवा मोर्चा सिलगढी सांगठनिक जिल्लाले यसबारे आवाज उठाएको छ। भाजपा युवा मोर्चा सिलगढी सांगठनिक जिल्लाको तर्फवाट सिलगढी महकुमा परिषद् कार्यालय अघि अर्थात् सिलगढी सीएमओएच कार्यालय अघि विक्षोभ प्रदर्शन गरियो। यसको साथै विविध आरोप लगाउँदै मुख्य स्वास्थ्य अधिकारीलाई एउटा ज्ञापन पत्र पनि चढायो। भाजपाको विक्षोभ प्रदर्शन अवधि कुनै प्रकारको अप्रिय घटना नहोस् भन्ने उद्देश्य लिएर घटनास्थलमा पुलिस वाहिनी तैनाथ गरिएको थियो। भाजपा युवा मोर्चा सिलगढी सांगठनिक जिल्ला सभापति अरिजीत दासले भने, प्रत्येक वर्ष वर्षा कालपछि डेङ्गु संक्रमितहरूको संख्या बढ्ने गर्दछ। स्वास्थ्य विभागको तर्फबाट मानिसहरूलाई डेगुबारे जागरुक गराउन कुनै प्रकारको पदक्षेप ग्रहण नगरिएकोले गर्दा नै आज आफूहरूद्वारा विक्षोभ प्रदर्शन गरिएको हो। अर्कोतिर, सिलगढी नगरनिगमका मेयर गौतम देवले भने, भाजपाले मानिसहरूको पक्षमा काम गरेको छैन। २०२४ को चुनाउ नजिकै रहेको छ। साधारण मानिसहरूले भाजपालाई कुनै महत्व दिएको छैन। यसैले आफ्नो अस्तित्व बचाइ राख्ने उद्देश्यले यस प्रकारको कार्य गरेर नगरनिगमलाई दोष्याइरहेको छ।