२९ मईः स्पेनिश फूटबल क्लब रियल म्याड्रिडले ईंग्लिश प्रीमियर लीग क्लब लिभरपूललाई रोमाञ्चक फाइनलमा पराजित गरी यूएफा च्याम्पियन्स लीगको खिताब जित्यो। यूरोपेली क्लब फूटबलको सबैभन्दा प्रतिष्ठित टुर्नामेण्टमा यो रियलको रेकर्ड १४औं खिताब हो। पेरिसको स्टेड डी फ्रान्स स्टेडियममा भएको फाइनलमा रियलले शक्तिशाली लिभरपूललाई १-०-ले पराजित गरी ट्रफी जित्यो। च्याम्पियन टीमबाट म्याचको एकमात्र गोल ब्राजीलका स्टार विंगर विनिसियस जूनियरले ५९औं मिनटमा छिराए। रियल म्याड्रिडको निम्ति यो सीजन यादगार रह्यो अनि टीमले स्पेनिश ला लीगापछि च्याम्पियन्स लीग जस्तो प्रतिष्ठित टुर्नामेण्ट जितेर सत्रको समापन गऱ्यो। यसरी नै लिभरपूललाई चाहिँ भाग्यले साथ दिएन अनि केवल १ पोइण्टले म्यानचेष्टर सिटीभन्दा पछि रहेर प्रीमियर लीग खिताब उम्काएपछि च्याम्पियन्स लीगमा पनि उपविजेताको रूपमा चित्त बुझाउनु पऱ्यो।
विश्वको हरेक कुनाबाट पेरिस पुगेका दुवै टीमका समर्थकहरूले टम्मै भरिएको स्टेडियममा शनिवार अबेर राति खेलिएको फाइनलमा लिभरपूलले पूरा म्याचमा रियलमाथि दबाउ सृष्टि गऱ्यो। स्पेनिश क्लबलाई च्याम्पियन बनाउनमा गोलकीपर थिबाउट कोर्टोइसले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै म्याचमा एकाधिक दर्शनीय शेभ गरे। उनले म्याचको दुवै हाफमा लिभरपूललाई केही निश्चित गोलहरूबाट वञ्चित गरे। यसबाहेक जुर्गेन क्लोपको टीमलाई दुईजना प्रमुख खेलाड़ी मोहम्मद सलाह र सेडियो मानेको खराब फीनिशिंगले पनि डुबायो। लिभरपूलले पूरा म्याचमा रियलको ४ वटा शट्को स्थानमा विपक्षी पोस्टमा २४ पल्ट शट् लगाएर पनि गोल गर्न सकेन। यसको विपरीत ४६ प्रतिशत पोजेशनको साथ खेल्ने रियललाई विनिसियस जूनियरको सटीक फीनिशिंगले ट्रफी दिलायो।
यस जीतको साथै रियल म्याड्रिडका प्रशिक्षक इटलीका कार्लो एन्सेलोट्टी टुर्नामेण्टको इतिहासका सबैभन्दा सफल प्रबन्धक बने। उनको नाममा रेकर्ड चारवटा च्याम्पियन्स लीग खिताब दर्ता भयो। च्याम्पियन्स लीगमा यो रियलको १७औं फाइनल थियो, जसमा उनीहरूले लिभरपूललाई तेस्रोपल्ट पराजित गरे च्याम्पियन बन्ने गौरव हासिल गरे। यसरी यो च्याम्पियन्स लीगको इतिहासमा सर्वाधिकपल्ट दोहोरिएको फाइनल म्याच पनि बन्यो। एन्सेलोट्टीले म्याचपछि भने, क्लबको इतिहासले हामीलाई मुश्किल समयमा प्रेरित गऱ्यो। यसैकारण फाइनलसम्म पुग्न सफल भयौं। यस सीजनमा रियलको असाधारण सफलतापछि टीमका मुख्य स्ट्राईकर तथा कप्तान करीम बेञ्जेमाको प्रमुख योगदान रह्यो। फ्रान्सका यस फूटबलरको निम्ति यो सीजन यादगार रह्यो। उनी १५ गोलको साथ च्याम्पियन्स लीगको यस सीजनको सर्वाधिक गोलदाता रहे।