दिवाकर प्रधान
ॐ गुप्त प्रधान (४ जुलाई १९४५ – १२ अक्टोबर २०२२)-को पुण्यात्मालाई श्रद्धाञ्जलि अर्पण गर्दछु।
कान्तिपुरी काठमाड़ौँको मदन पुरस्कार गुठी र काशीनगरीको श्रीकाशी विद्याधर्म प्रचारिणी समितिले वाराणसीपुरीमा १६ जनवरी २०२२-का दिन समारोह आयोजन गरीकन वर्ष २०२१-को मदन सम्मान प्रदान गर्न गुप्त प्रधान महोदयलाई आमन्त्रित गर्दा अस्वस्थताका कारणले उपस्थित हुन सक्नुभएको थिएन । मदन सम्मान घरमै पठाइयो।त्यसै बेलादेखि रोगले गर्दा हाम्रा ज्ञानवृद्ध गुप्त गुरु वयोवृद्ध पनि हुनथाल्नुभएको थियो । हुनता वार्धक्य पनि एउटा रोगै हो । उहाँको गाथलाई सन्च हुन सकेन । पटक-पटक चलभाषमा हाम्रा कुरा हुन्थे । ‘यहाँको गाथलाई कस्तो छ?’ भनी सोध्दथेँ । शरीरमा यातना भएको कुरा गर्नुहुन्थ्यो । मूल रोग थियो निद्रा नलाग्ने। क्लान्त शरीरदेखि आज मुक्त हुनुभएको सूचना लिएर उहाँकी जेठी छोरी कुमुदिनीको सन्देश आज बिहानै आयो । निदाउन नसक्नुहुने गुप्त गुरु अब सधैँलाई निदाउनुभयो तर उहाँका कृतित्व सदा जाग्रत रहनेछन्। विषाद लागे पनि सान्त्वना यसैमा छ कि उहाँ आफ्ना गुणकृतिमा बाँचिरहनुहुनेछ ।
थाहा लागेअनुसार उहाँ दार्जिलिङ नगरको ब्लुमफिल्डमा जन्मनुभएको हो । गुप्त प्रधानको औपचारिक नाम गुप्तनारायण प्रधान थियो। उहाँका बुवाको नाम जीतमान प्रधान र मुमाको नाम ऐतिमाया प्रधान हुन् । उहाँ १० वर्ष पुग्नुहुँदा बुवाको निधन भइदिनाले जीवन कष्टकर बनेको थियो । १६ वर्षकै वयमा ठेका-लेखा काम गर्नुपऱ्यो । ब्लुमफिल्ड पाठशालाबाट प्राथमिक शिक्षा पाउनुभएपछि सन्त रोबर्टस पाठशालाबाट आठौँ श्रेणीसम्म पढ्न सक्नुभयो । रामकृष्ण शिक्षा परिषद्बाट म्याट्रिक पास गर्नुभयो । स्वाध्ययनले बी. ए. (अनर्स) र बी. टी. हुनुभयो ।
१९६४-मा गुप्तनारायण प्रधान बिजनबारीको पदेङ प्राथमिक पाठशालामा अध्यापक बन्नुभयो । १९६९-देखि एक वर्ष दार्जिलिङ नगरको विवेकानन्द प्राथमिक पाठशाला (सानो म्यनिसिपल वा कर्णेलभिल्ला स्कूल)-मा अध्यापन गर्नुभएपछि १९७०-देखि १९७५-सम्म नगरपालिका बाल प्राथमिक पाठशालामा अध्यापन गर्नुभयो । १९७५-मा उहाँको प्रोन्नति भएर नगरपालिका बाल उच्च पाठशालामा पढाउन थाल्नुभयो । त्यस बेला नगरपालिका बाल उच्च विद्यालयका प्रधान अध्यापक हुनुहुन्थ्यो एम. बी. प्रधान र सहायक प्रधान अध्यापक हुनुहुन्थ्यो गौतमनारायण प्रधान । गुप्तनारायण प्रधानभन्दा वरिष्ठ हुनुहुनाले उहाँहरू पहिल्यै अवकाशप्राप्त हुनुभयो भने गुप्त गुरु २००७-मा सेवानिवृत्त बन्नुभयो । दार्जिलिङ नगरको डा. जाकिर हुसेन पथमा युथ होस्टेल गाउँको निजी भवनमा उहाँ बस्नुहुन्थ्यो। वृत्तिले उहाँ अध्यापक गुप्तनारायण प्रधान अनि रुचिले लेखक गुप्त प्रधान हुनुहुन्थ्यो । गुप्त प्रधानका कृतिहरू यी हुन् :
क) कथा सङ्ग्रह – १. मान्छे ! मान्छेकै बस्तीभित्र (इसाब्द १९८०), २. अक्षरै अक्षरको शहर (१९९३), विराम चिह्नहरू (२००२), समयका प्रतिबिम्बहरू (२०११)
ख) उपन्यास – विस्थापन (सहलेखन) (१९७७)
ग) अनुवाद – देश-विदेशका कथाहरू (१९९१)
घ) गवेषणा र समालोचना – १. धूमिल पृष्ठहरू (२००६), २. केही विषयहरू केही विशेषताहरू (२००८), ३. केही विचार केही दस्तावेज (२०१७), ४. पचहत्तर वर्षको इतिहासमा गोदुनिस दार्जिलिङ (२०१७)
ङ) सम्पादन – १. स्वामी प्रबुद्धानन्द स्मृति ग्रन्थ (२००२), २. महानन्द पौड़्याल : उनका आफ्नै कृतिहरूमा (२००८), ३. मनबहादुर गुरुङ : उनका आफ्नै छविहरूमा (२०१०), ४. कृति अनि स्मृतिहरूमा शरद् छेत्री (२०१३)
उहाँ कवि र गीतकार पनि हुनुहुन्थ्यो । ‘जनदूत’ पत्रिका (सम्पादक – जगत् छेत्री), वर्ष २, अङ्क ६, नागरी फार्म, वर्ष १९६४-मा पहिलोपल्ट उहाँको कविता ‘बनिदेऊ’ निस्केपछि खुरुखुरु लेख्ने हुनुभयो । उहाँका कविता ‘धुवाँ’(१९६६-६९), ‘चाँप-गुराँस’ (१९७४), ‘परदेशी’ (२००२) पत्रिकामा प्रकाशित भएका छन् । १०वटाजति प्रेमगीत पनि लेख्नुभएको छ ।
गुप्त प्रधानका रचनाहरूमाथि भनेजति समालोचना भएका छैनन् । जति भए भए, अब धेरै हुनेछन्।गुणकृति चर्चित हुने नै हो। १९७६-को ‘अस्तित्व’ पत्रिकामा उहाँका कथाहरूमाथि चन्द्र शर्माले राम्रो विमर्श गरिदिनुभएको छ । ‘वितर्क’ पत्रिका (१९८९)-मा सञ्जय बान्तवाले ‘मान्छे मान्छेकै बस्तीभित्र’-को एउटा कथामाथि विचार लेख्नुभएको छ । सुनिता प्रधानले ‘स्रष्टा’ (१३/३१)-मा र ‘प्रखर’ (१/१)-मा गरी दुइवटा राम्रा समालोचना प्रकाशित गर्नुभएको छ । निर्मल छेत्री, सुधीर छेत्री, सुजाता राई, रुद्रराज मास्के, शान्तिराज शर्मा, कमलकुमार छेत्री, नवीन पौड़्याल, सुरेन्द्र चामलिङ, सञ्जय बिष्ट, अर्जुन प्रधान, शरद् छेत्री, वीणा हाङखिम, कविता लामा, मणिका मुखिया, महेश दाहालहरूले आ-आफ्ना एक-दुइवटा लेखबाट भए पनि गुप्त प्रधानका कृतित्वको मूल्याङ्कन गर्नुभएको छ । महेश दाहालले काशी हिन्दू विश्वविद्यालयबाट गुप्त प्रधानका कथाकृतिहरूको समाजपरक अध्ययन विषयमा विद्यावारिधि गर्नुभयो । अरू विश्वविद्यालयमा पनि स्नातक र एम फिल-का केही शोध भएका छन् ।
साहित्यकार गुप्त प्रधानले यी पुरस्कार र सम्मान पाउनुभएको छ : १. स्रष्टा पुरस्कार, गेजिङ, १९९२; २. दियालो पुरस्कार, नेसास. दार्जिलिङ, १९९७; ३. पारसमणि पुरस्कार, नेसाअस. कालेबुङ, २००४; ४. अरूगि पुरस्कार, अरूगिस. खरसाङ, २००९; ५. साहित्य अकादेमी पुरस्कार, साअ. नवदिल्ली, २०१५; ६. मदन सम्मान, मपुगु काठमाडौँ -स- श्रीकाविधप्रस, वाराणसी, २०२१।
साहित्यकार गुप्त प्रधान अमर रहून् ।
‘मृत्योर्मामृतं गमय’।।










