गेजिङ: गेजिङ जिल्लाभित्रको गेजिङ ओमचुङ ग्राम पञ्चायत एकाईलाई गरिबीमुक्त र उत्तम जीविकोपार्जनको क्षेत्रमा राष्ट्रिय मान्यता प्राप्त भएको छ। भारत सरकारको पञ्चायती राज मन्त्रालय ले वर्ष २०२५ का लागि यस पञ्चायतलाई ‘दीनदयाल उपाध्याय पञ्चायत सतत विकास पुरस्कार’ प्रदान गर्ने घोषणा गरेको छ।
पञ्चायतले राष्ट्रिय स्तरमा तेस्रो स्थान हासिल गरेको छ, जुन सिक्किमका जनताका लागि गर्वको क्षण हो।
गेजिङ ओमचुङ पञ्चायत एकाईले भनेको छ कि यो पुरस्कार पञ्चायतको जीविकोपार्जन अभिवृद्धि, गरिबी निवारण र दिगो ग्रामीण विकासमा अनुकरणीय पहलहरूको प्रमाण हो। यसले पञ्चायत नेतृत्व, समुदायका सदस्यहरू र सहयोगी संस्थाहरूको सामूहिक प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ।
पञ्चायतले मुख्यमन्त्री प्रेमसिंह तामाङ, पञ्चायती राज मन्त्री र सम्बन्धित विभाग, क्षेत्रीय विधायक र जिल्लाका सबै विभागहरूलाई दूरदर्शी नेतृत्व, प्रोत्साहन, मार्गदर्शन र समर्थनको लागि धन्यवाद दिएको छ। साथै, गेजिङ ओमचुङका जनतालाई उनीहरूको सक्रिय सहभागिता र सामूहिक भावनाका लागि धन्यवाद ज्ञापन गरेको छ।
पञ्चायतले यो मान्यता केवल गेजिङ ओमचुङको लागि उत्सव नभई राज्य र राष्ट्रभरका अन्य पञ्चायतहरूलाई ग्रामीण विकासका लागि नवीन र जनता-केंद्रित दृष्टिकोण अपनाउन प्रेरणा दिने बताएको छ।











