खरसाङ: खरसाङ विधानसभा समष्टिमा सीपीआईएम (माक्सवादी कम्युनिष्ट पार्टी) को तर्फबाट तीनधारे निवासी उत्तम शर्मा उम्मेद्वार भएका छन्। उनी विगत १९८९ सालदेखि राजनीतिमा सक्रिय रहेका छन्। उनी योभन्दा पहिला पनि खरसाङ विधानसभा समष्टिमा उम्मेद्वारको रुपमा चुनाउ मैदानमा उत्रेका थिए। यसपाली पनि माकपाले उनलाई पुन: उम्मेद्वार बनाएको छ। उत्तम शर्मा हालमा पार्टीको दार्जिलिङ जिल्ला कमिटीको सदस्य साथै किसान सभा दार्जिलिङ जिल्लाको सह सचिव रहेका छन्। उनले लामो समयदेखि पार्टीको विभिन्न पदहरुमा रहेर कार्य गरेका थिए। उत्तम शर्मा डीवाईएफआई दार्जिलिङ जिल्लाको सभापतिको रुपमा तीनपल्टसम्म कार्य गरेका थिए भने १९९५ देखि २००० सम्म ग्राम पञ्चायत सदस्य रहेर पनि काम गरेका थिए। उनी २००५ सम्म डीजीएचसीमा मनोनित कार्यकारी पार्षदको रुपमा पनि काम गरेका थिए। उनले यसपालीको विधानसभा चुनाउ पहाडको विकास लगायत यहाँको शिक्षा, स्वास्थ्य र बुनियादी विकासको नाममा साथै दार्जिलिङ पहाडलाई उच्च क्षमता सम्पन्न स्वायत्ता शासनको पक्षमा चुनाउ लडिरहेको पनि उत्तम शर्माले बताएका छन्।










