मिरिक: जीटीएको सूचना अनि सांस्कृतिक विभागको तत्वावधानमा अनि मिरिक सौरेनी आयोजक समितिको आयोजनामा यस वर्षको २३ अक्टोबरको दिन सौरेनी बजारमा दसैं तिहार रमाइलो भेटघाट कार्यक्रम समपन्न हुने भएको छ। कार्यक्रमको आयोजक समितिले बताए अनुसार यस कार्यक्रममा देउसे भैलो, भैलेनी, मारूनी, सङ्गिनी आदि प्रतियोगिताको आयोजना गरिने भएको छ। यस कार्यक्रमको आयोजनाको उद्देश्य जात होइन, तर नेपाली जातिको संरक्षण गर्नु रहेको पनि आयोजक समितिले बताएको छ। गोर्खा जातिको विलुप्त हुँदै गइरहेको विभिन्न चाँड पर्व, साहित्य, संस्कृति, खान-पान आदिको जगेरा गर्नु पनि यस कार्यक्रमको प्रमुख उद्देश्य हो। यस कार्यक्रमलाई निष्पक्ष तथा निःस्वार्थको भावना राखेर आयोजना गरिएको साथै कुनै पनि जाति अथवा धर्मलाई आघात पुर्याइने छैन। यस प्रतियोगिताको नियमबारे जानकारी गराए अनुसार यो प्रतियोगितामा पुरुष अथवा महिला एक समूहमा १० देखि अधिक भएर प्रस्तुत गर्नु पर्नेछ। प्रतियोगितामा अंश ग्रहण गर्नेहरूले अनिवार्य जातीय भेष-भुषा लगाइनु पर्ने साथै मौलिकतामा आधारित प्रस्तुती दिनु पर्नेछ। प्रतियोगितामा पुरुष अनि महिलाहरूले पनि संयुक्त रूपमा अंशग्रहण गर्न सक्ने छन् प्रतियोगीहरूले कुनै पनि रेकर्ड बजाएर ध्वनिको सहयोगमा कार्यक्रम गर्न पाइने छैन बाजा गाजा बजाएर आफ्नो प्रस्तुती दिनु पर्नेछ साथै बाजा गाजा आफ्नै साथमा लिएर आउन पर्नेछ। प्रतियोगिताको निर्णायक मण्डलीका सदस्यहरूको निर्णय अनुसार पहिलो, दोस्रो र तेस्रो दर्जामा छनौट हुनेहरूलाई आकर्षक पुरस्कार सहित नगद राशि प्रदान गरिने आयोजक समितिले जनाएको छ।