सीएसके-को दुर्दशा, राजस्थान रोयल्स ८ विकेटले विजयी

IMG-20260330-WA0119

गुवाहाटी: आईपीएल २०२६-मा राजस्थान रोयल्सले यादगार जीतको साथ अभियान शुरु गऱ्यो। सोमवार बारसापारा क्रिकेट स्टेडियममा खेलिएको म्याचमा राजस्थान रोयल्सले ५ पल्टको च्याम्पियन चेन्नई सुपर किंग्स (सीएसके)-लाई सजिलै ८ विकेटले पराजित गऱ्यो। म्याचमा टस हारेर पहिला ब्याटिंग गर्दै सीएसके-को टीम १९.४ ओभरमा केवल १२७ रन बनाएर अलआउट भयो। त्यसपछि राजस्थान रोयल्सले १२.१ ओभरमै केवल २ विकेट गुमाएर १२८ रनको लक्ष्य हासिल गऱ्यो। राजस्थानको तर्फबाट युवा ओपनिंग ब्याटर वैभव सूर्यवंशीले चीरपरिचित मिजासमा खेल्दै सर्वाधिक ५२ रन बनाए। उनले केवल १७ बल खेलेर ५ वटा छक्का र ४ वटा चौका लगाए। यसबाहेक यशस्वी जयसवालले अविजित ३८ रन बनाए। सूर्यवंशी र जयसवालले पहिलो विकेटको निम्ति ६.२ ओभरमै ७५ रनको पार्टरशीप गरेर म्याचलाई एकतर्फी बनाए। सूर्यवंशी र ध्रुव जुरेल लगातार आउट भए पनि राजस्थानलाई म्याच जित्न समस्या भएन। कप्तान रियान पराग १४ रनमा अविजित रहे। सीएसके-का बलरहरूमा अंशुल कम्बोजले सर्वाधिक २ विकेट लिए। यसअघि म्याचमा पहिला ब्याटिंग गर्दै सीएसके-को शुरुवात चरम निराशाजनक रह्यो अनि ५७ रनमै ६ विकेट गुमाएपछि टीमले असल स्कोर बनाउन सकेन। आठौं नम्बरमा ब्याटिंग गर्न आएर जेमी ओवरटनले ४३ रन बनाएर टीमलाई १०० पारी पुऱ्याए। उनले ३६ बल खेलेर २ वटा चौका र २ वटा छक्का लगाए। यसबाहेक कार्तिक शर्माले १८ र सरफराज खानले १७ रन बनाए। शीर्ष क्रममा सञ्जु सेमसन र कप्तान रुतुराज गायकवाड़ ६-६ रन बनाएर आउट भए। राजस्थानका बलरहरूमा जोफ्रा आर्चर, नान्द्रे बर्गर र रविन्द्र जडेजाले २-२ विकेट हासिल गरे।

About Author

Advertisement