सिलगढी: ओएसडी, स्वास्थ्य विभाग, उत्तर बंगाल, डा. सुशान्त रोयले बुधबार सिलगढीमा बढ्दो डेङ्गुलाई लिएर जिल्ला स्वास्थ्य विभागका अधिकारीहरूसँग उच्च-स्तरीय बैठक गरे। मिनी सचिवालय उत्तर कन्यामा आयोजित उक्त बैठकमा दार्जिलिङ जिल्लाका प्रमुख स्वास्थ्य अधिकारी तुलसी प्रामानिक, एईओ प्रेमकुमार बरदेवालगायत स्वास्थ्य अधिकारीहरुको उपस्थिति रहेको थियो। बैठकपछि ओएसडी डा सुशान्त रोयले डेङ्गुको उपचारका लागि चिकित्सा सेवाको अभाव नरहेको बताए। अर्कोतर्फ डेङ्गुबारे जनतामा अझै पनि चेतनाको कमी रहेको उनको भनाइ छ। जसका कारण डेङ्गु नियन्त्रण हुन सकेको छैन। यो अवस्थालाई सम्बोधन गर्न भिसीटी टोलीको संख्या बढाइएको छ। लगभग ५ सय कर्मचारीलाई एक महिनाका लागि नयाँ भर्ना गरिने छ। यससँगै उनले सिलगढीको वार्ड नम्बर ५ मा पनि डाक्टरको संख्या बढाइएको बताए। यद्यपि गत महिनाको तुलनामा यो महिनामा संक्रमितको संख्या कम छ। सुशान्त राईले डेङ्गुको उपचारका लागि कतिपय नर्सिङ होमले अतिरिक्त शुल्क लिने गरेको सुनिएको बताए। यही उजुरीका आधारमा सिलगढीका ५ वटा नर्सिङ होमलाई कारण देखाउ नोटिस दिइएको छ। उनले डेङ्गुबारे असोज १४ गते नर्सिङ होमका पदाधिकारीसँग बैठक गर्ने बताए।