कथाकार गुप्त प्रधान अब हामीमाझ रहेनन्

309594394_5370830312965731_7715308645787244464_n

भोलि गरिने अन्तिम संस्कार

सिलगढी: भारतीय नेपाली साहित्यका वरिष्ठ कथाकार गुप्त प्रधानको निधन भएको छ। उनको निधन आज बिहान ६.३० बजेतिर दार्जिलिङको डा जाकीर हुसैन रोड नजिक आफ्नै वासस्थानमा भएको छ। उनी ७५ वर्ष पुगेका थिए। उनको अन्तिम संस्कार भोलि बिहीबार गरिने भएको जानकारी प्राप्त भएको छ। साहित्यकार गुप्त प्रधानको निधनले भारतीय नेपाली साहित्यिक समाज शोकमय बनेको छ। कथा क्षेत्रमा बहुचर्चित गुप्त प्रधानले नेपाली साहित्यमा धेरैवटा उत्कृष्ट कथा संग्रहहरू दिईसकेका थिए भने हालमा पनि उनी कथा लेखन अनि साहित्यिक क्रियाकलापहरूमा सक्रिय रहेका थिए। ६० को दशकदेखि नै नेपाली कथाको क्षेत्रमा देखापरेका वरिष्ठ कथाकार गुप्त प्रधानले आफ्नो लेखन यात्राको शुरूआतमा कविता र गीतहरू पनि लेखेका थिए। पछि गएर उनी परिचित कथाकारको रूपमा नेपाली साहित्यमा स्थापित भए।

कथाकार गुप्त प्रधानले साहित्यिक योगदानको निम्ति स्रष्टा पुरस्कार (सन् १९९२), दियालो पुरस्कार (सन् १९९७), पारसमणि पुरस्कार (सन् २००४), अरूगि पुरस्कार (सन् २००९), नेपाली साहित्य सम्मेलन पुरस्कार (सन् २०१४) अनि साहित्य अकादमी पुरस्कार (सन् २०१५) आदि पनि प्राप्त गरिसकेका थिए भने काशीबाट मदन सम्मान पनि दिइएको थियो। गुप्त प्रधानले आफ्नो पहिलो रचना ‘बनिदेऊ’ नामक कविता सन् १९६५ सालमा जनदूत पत्रिकामा प्रकाशित गरेका थिए। उनका प्रकाशित कृतिहरू विस्थापन – उपन्यास (१९७७), मान्छे मान्छेकै बस्तीभित्र- कथा संग्रह (सन् १९८०), देश विदेशका कथाहरू -अनुदित कथा संग्रह (१९९१), अक्षरै अक्षरको शहर – कथा संग्रह (सन् १९९३), विराम चिन्हहरू – कथा संग्रह (सन् २००२), धुमिल पृष्ठहरू – अनुसन्धानात्मक लेख संग्रह (२००६), केही विषयहरू : केही विशेषताहरू – विविध लेख संग्रह (२००८), समयका प्रतिबिम्बहरू – कथा संग्रह (सन् २०११), केही दस्तावेज : केही विचार – लेख संग्रह (२०१६) आदि रहेका छन्। यसबाहेक उनले थुप्रै पत्रिकाहरू र पुस्तकहरू पनि सम्पादन गरेका छन्। उनको सन् २०११ मा प्रकाशित कथा संग्रह ‘समयका प्रतिबिम्बहरू’ लाई सन् २०१५ मा साहित्य अकादमी पुरस्कार प्रदान गरिएको थियो। उनको विभिन्न पक्षहरूलाई लिएर डा महेश दाहालको सम्पादनमा ‘गुप्त प्रधान अभिनन्दन ग्रन्थ’ पनि प्रकाशित छन्।

साहित्यकार गुप्त प्रधानको निधनले दार्जीलिङ लगायत अन्य क्षेत्रका नेपाली साहित्यकारहरू पनि स्तब्ध बनेका छन्। जीटीए अध्यक्ष अनित थापाले पनि गुप्त प्रधानको निधनमा गहिरो शोक प्रकट गर्दै श्रद्धाञ्जलि अर्पण गरेका छन्। उनले गुप्त प्रधानलाई नेपाली साहित्यका आकासका एक तारा भन्दै उनीप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गरेका छन्। यसबाहेक विभिनेन साहित्यिक सघं-संस्थालगायत साहित्यिक, सृजनशील व्यक्तित्वहरूले पनि गुप्त प्रधानको निधनमाथि शोक प्रकट गर्दै श्रद्धाञ्जलि अर्पण गरेका छन्। ४ जुलाई १९४५ सालमा जन्मेका गुप्त प्रधान ७५ वर्ष उमेर पुगेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement