बाग्राकोट- डुवर्सका विशिष्ट कवि तथा गीतकार वेग वसन्त थापाद्वारा प्रायोजित विष्णु रत्न शिक्षा पुरस्कार डुवर्सको चमर्ची फरेस्ट लाइन प्राइमेरी स्कुललाई यसै महिनाको 16 तारिकको दिन बाग्राकोटमा आयोजना हुने एक विशेष कार्यक्रमबीच प्रदान गरिने भएको छ।डुवर्स युवा साहित्य संवादको तत्वावधानमा बाग्राकोटको टपलाइनस्थित भीमसेन भवनमा आयोजना हुने कार्यक्रममा उक्त पुरस्कार चमर्ची फरेस्ट लाइन प्राइमेरी स्कुललाई प्रदान गरिने छ। डुवर्स युवा साहित्य संवादको विशेष पहलमा विष्णु रत्न शिक्षा पुरस्कारको निम्ति चमर्ची फरेस्ट लाइन प्राइमेरी स्कुललाई छनोट गरिएको हो। उक्त छनोट कार्य शिक्षक सागर शर्मा , शिक्षक कुमार छेत्री र साहित्यकार अबिर खालिङ आबद्ध जुरीद्वारा गरिएको डुयुसासंको पक्षमा नारायण काफ्लेले जनाएका छन्।काफ्लेका अनुसार छनौट कार्यको निम्ति डुयुसासंको विशेष टोलीले निक्कै लामो समयसम्म डुवर्सका विभिन्न नेपाली माध्यमका प्राथमिक पाठशालाहरूको सर्वेक्षण गरेको थियो।त्यसै सर्वेक्षणको आधारमा जुरी समक्ष डुयुसासंले प्रस्तुत गरेको तीनवटा उत्कृष्ट नेपाली प्राथमिक पाठशालाबाट चमर्ची फरेस्ट लाइन प्राइमेरी स्कुललाई जुरीले डुवर्सको एक उत्कृष्ट नेपाली प्राथमिक पाठशालाको रुपमा अन्तिम छनोट गरेको हो। यसरी डुवर्सको एक उत्कृष्ट नेपाली प्राथमिक पाठशालाको रुपमा छनोट गरिएको चमर्ची फरेस्ट लाइन प्राइमेरी स्कुलले पहिलो विष्णु रत्न शिक्षा पुरस्कार प्राप्त गर्ने भएको छ। बाह्र हजार रुपियाँ सहयोग राशिसहितको विष्णु रत्न शिक्षा पुरस्कार वेग वसन्त थापाले दिवङ्गत माता पिता विष्णुमाया थापा र रत्नबहादु थापाको स्मृतिमा दिइने कुराको घोषणा गत वर्ष डुयुसासंकै एक कार्यक्रमको मञ्चबाट गरिसकेका थिए ।जुन यस वर्षदेखि प्रत्येक वर्ष डुवर्सको कुनै एक उत्कृष्ट प्राथमिक पाठशालालाई दिइने वेग वसन्त थापाले जनाएका छन्।नुनको चिया’ उपन्यासको नेपाली अनुवादको र अनुवाद साहित्यमाथि विमर्श समेत गरिने उक्त कार्यक्रमको तयारी युद्ध स्तरमा भइरहेको डुयुसासंले जनाएको छ। विष्णु रत्न शिक्षा पुरस्कारका प्रायोजक, नुनको चिया’का मूल लेखक र लगायत अनुवादक आदिका उपस्थिति रहने उक्त कार्यक्रममा अनुवाद साहित्यमा विमर्श कार्यक्रम समावेश रहने छ।विमर्श कार्यक्रममा साहित्यकार डा. राजकुमारी दाहाल र समीक चक्रवर्ती प्रमुख रुपमा उपस्थित रहने नारायण काफ्लेले जनाएका छन्।