गान्तोक: रामनवमीको पावन अवसरमा सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले राज्यका सम्पूर्ण जनतालाई हार्दिक शुभकामना व्यक्त गरे।
शुभकामना सन्देशमा उनले भगवान श्रीरामको जन्मसँग सम्बन्धित यस पवित्र पर्वले सत्य, कर्तव्य र धर्मपरायणताको सन्देश दिने उल्लेख गरेका छन्। उनले भगवान श्रीरामको जीवन आदर्श पुत्र, समर्पित दाजु, मायालु पति तथा न्यायप्रिय राजाको रूपमा प्रेरणादायी रहेको बताए।
मुख्यमन्त्रीले श्रीरामका अटल मूल्यहरूले पुस्तौँदेखि मानव समाजलाई प्रेरणा दिँदै आएको उल्लेख गर्दै ती शिक्षाबाट शक्ति ग्रहण गरी दैनिक जीवनमा इमानदारी, करुणा र सद्भाव अपनाउन सबैलाई आग्रह गरे।
उनले यस पावन अवसरले प्रत्येक घरमा शान्ति, सुस्वास्थ्य र समृद्धि ल्याओस् भन्ने कामना गर्दै सबैलाई उज्ज्वल र सौहार्दपूर्ण भविष्य निर्माणतर्फ एकजुट हुन आह्वान गरे।










