गान्तोक: अप्पर बुर्तुक निर्वाचन क्षेत्रकी विधायक कला राईले स्वास्थ्य क्षेत्रलाई वर्तमान सरकारले उच्च प्राथमिकता दिँदै यस क्षेत्रमा व्यापक सुधार ल्याउने काम गरेको बताइन्। उनले स्वास्थ्य सेवाहरूको क्षेत्रमा सिक्किमलाई पूर्वोत्तर राज्यकै उत्कृष्ट राज्य भएको दाबी पनि गरे।
विधायक राई आज सिक्किम विधानसभाको एक दिवसीय सत्रमा राज्यपालको अभिभाषणमाथि धन्यवाद प्रस्तावमा बोल्दै थिइन्। यस अघि राज्यपाल ओमप्रकाश माथुरले सदनमा लेखानुदानमाथि आफ्नो अभिभाषण प्रस्तुत गरेका थिए। विधायक राईले २०१९ मा एसकेएम पार्टीको सरकार गठन भएपछि राज्यमा स्वास्थ्य सेवाहरूको क्षेत्रमा उल्लेखनीय कार्य भएको बताइन्। उनले आरोप लगाइन् कि पहिलेको सरकारमा राज्यका जनताले स्वास्थ्य क्षेत्रमा ठूलो चुनौतीको सामना गर्नु पर्ने स्थिति थियो भने तत्कालीन सरकारबाट कुनै प्रकारको समर्थन नपाएको थियो।
वर्तमान सरकारको स्वास्थ्य सेवामा सुधारको श्रेय मुख्यमन्त्री पीएस तामाङलाई दिँदै उनले सिक्किममा उपलब्ध उत्कृष्ट स्वास्थ्य सेवाहरूका कारण आज छिमेकी दार्जिलिङ, नेपाल र भुटानका बिरामीहरू पनि यहाँ उपचारका लागि आउने गरेको बताइन्। उनले सिक्किम सरकारले अब आईवीएफ उपचार पनि सुरू गर्ने तयारी गरेको जानकारी पनि दिइन्।
यसै बीच, विधायक सुदेश कुमार सुब्बाले सडक पूर्वाधारको सुधारमा वर्तमान सरकारले काम गरिरहेको बताउँदै यस पहलले राज्यमा पर्यटनको प्रवर्द्धनमा मद्दत गर्ने विश्वास व्यक्त गरे। उनले चिवाभञ्ज्याङ मार्गको निर्माणको उल्लेख गर्दै यस मार्गले राज्यमा पर्यटन र व्यापारलाई प्रवर्द्धन गर्ने साथै दुई देश बीचको सम्बन्धलाई पनि सुदृढ बनाउने विश्वास व्यक्त गरे।
विधायक इरुङ तेन्जिङ लेप्चाले वर्तमान सरकारका कार्यहरूको प्रशंसा गर्दै भने कि ३० वर्षसम्म न्यायबाट वञ्चित रिन्छेनपोङ निर्वाचन क्षेत्रका जनताले अहिले न्याय प्राप्त गर्दैछन्। उनले मुख्यमन्त्रीको दिशानिर्देशमा सुरू गरिएको ‘कनेक्ट टु सिक्किम’ पहलको पनि सराहना गरे।
विधायक आदित्य गोलेले एसकेएम सरकार गठनपछि सोरेङलाई जिल्ला बनाइएको र सोरेङ बजारमा नगर पालिका चुनाव हुँदै गरेको जानकारी दिए। उनले सोरेङलाई विकासको दिशामा अग्रसर हुँदै विभिन्न विकास योजनाहरू प्रस्तुत गरे। सोरेङ जिल्लाका कतिपय गाउँहरूलाई भाइब्रेन्ट भिलेज कार्यक्रम अन्तर्गत समावेश गर्न, सोरेङ फुटबल मैदानमा एस्ट्रो टर्फ लगाउन र जिल्लाका पुराना गुम्पाहरूलाई धार्मिक सर्किटमा सामेल गर्न पनि आग्रह गरे।
अन्तिममा, विधायक सोनाम भेन्चुङ्गपाले मार्तम रुम्तेक निर्वाचन क्षेत्रका पुराना गुम्पाहरूलाई बुद्धिस्ट सर्किट योजनामा समावेश गर्न अनुरोध गरे।









