खरसाङ: भारतीय जनता पार्टीको लागि खरसाङ विधानसभा समष्टिको उम्मेद्वार सोनाम लामाको पक्षमा आईतवार खरसाङमा चुनाव कार्यालय उदघाटन गरिएको छ। खरसाङको धोबीखोला क्षेत्रमा उक्त कार्यालय उदघाटन गरिएको छ। भाजपाको उक्त चुनावी कार्यालय दार्जिलिङका सांसद राजु विष्ट, भारतीय जनता पार्टी दार्जीलिङ जिल्ला अध्यक्ष सञ्जीव लामा, खरसाङको भाजपा उम्मेदवार सोनाम लामा आदिको बाहुलीबाट विधिवत् रूपमा उदघाटन गरिएको छ। उक्त चुनाव कार्यालय उदघाटनपछि सांसद राजु विष्ट, उम्मेदवार सोनाम लामा लगायत भाजपा पदाधिकारीहरु उपस्थित रहेका थिए। उक्त कार्यालय उदघाटन कार्यक्रममा भाजपा दार्जिलिङ जिल्ला अध्यक्ष सञ्जीव लामाले सम्बोधन गरेका थिए। उक्त चुनावी कार्यालय उदघाटन कार्यक्रमपछि उम्मेदवार सोनाम लामाको पक्षमा खरसाङको धोबीखोला क्षेत्रदेखि पथयात्रा आयोजना गर्दै खरसाङको मोटर स्ट्याण्ड हुँदै हिर्ट कार्ट रोड भएर सभा स्थलसम्म पुगेको थियो। यसावधि सांसद राजु विष्ट, जिल्ला अध्यक्ष सञ्जीव लामा, दार्जिलिङका विधायक निरज जिम्बा, रमेश अग्रवाल लगायत अन्यहरु उपस्थित भएर खरसाङ बजारमा भाजपा उम्मेद्वार सोनाम लामाको पक्षमा जनतालाई भोट अपिल गरेका थिए। उक्त पथयात्रापछि खरसाङको एक होटलमा भारतीय जनता पार्टीको चुनावी सभा सम्पन्न गरेको छ।

उक्त सभालाई रोमा ठटाल र अन्यले सञ्चालन गरेका थिए। यस चुनावी सभामा भाजपा दार्जिलिङ जिल्ला अध्यक्ष सञ्जीव लामाले स्वागत सम्भाषण राखेका थिए। यस चुनावी सभामा भाजपाको गठबन्धन दल गोर्खा जनमुक्ति मोर्चाका पदाधिकारीहरु पनि उपस्थित रहेका थिए। यस चुनावी सभालाई दार्जिलिङक सांसद राजु विष्ट र भारतीय जनता पार्टीको उम्मेद्वार सोनाम लामाले पनि सम्बोधन गरेका थिए। आफ्नो सम्बोधनको समयमा उम्मेद्वार सोनाम केही भावुक पनि पनि बनेका थिए। भाजपाको चुनावी सभापछि सांसद राजु विष्टको विशेष उपस्थितिमा भारतीय जनता पार्टीको पार्टी कार्यकर्ताहरुसित सांगठनिक सभा पनि गरेका थिए।










