गान्तोक: आगामी १० नोभेम्बरको दिन राज्यमा पञ्चायत चुनाउ सम्पन्न हुने भएको छ भने यसको मतगणना १२ नोभेम्बरको दिन हुने राज्य चुनाउ आयोगले आज घोषणा गरेको छ।आजदेखि नै राज्यको ग्रामीण क्षेत्रमा चुनाउ आचार संहिता लागु हुने छ। टाशीलिङ सचिवालयस्थित प्रेक्षागृहमा आयोजित एक पत्रकार सम्मेनलाई सम्बोधन गर्दै राज्य चुनाउ आयोगका आयुक्त केसी लेप्चाले उक्त घोषणा गरेका हुन्।
जानकारी गराइन्छ, वर्तमान पञ्चायतहरूको कार्यकाल १२ नोभेम्बरको दिन समाप्त हुनेछ। चुनाउ पूर्ण रूपले पारदर्शी ढंगमा सम्पन्न गराउने आज चुनाउ आयोगले कटिबद्धता जनाएको छ। राज्यभरि १,१४७ पञ्चायत वार्ड, १९७ ग्राम पञ्चायत एकाई अनि १२२ जिल्ला पञ्चायत समष्टिमा पञ्चायत चुनाउ हुनेछ। यसको निम्ति राज्य चुनाउ आयोगले १,१४७ पुलिङ स्टेशन राख्ने भएको छ। योपालीको पञ्चायत चुनाउमा मोठ ४,०९,९५१ मतदाता रहेका छन्, जसमा पुरुष मतदाताको संख्या २,०७,७०८ अनि महिला मतदाताहरूको संख्या २,०२,२४३ रहेको छ। गत दिनमा सम्पन्न शहरी निकायको चुनाउ जस्तै यसपालीको पञ्चायत चुनाउ पार्टीविहीन हुनेछ। उनले थप जानकारी गराए अनुसार ११ नोभेम्बरदेखि १८ नोभेम्बरसम्म उम्मेद्वारहरूले आफ्नो नामाङकन पत्र बुझाउन सक्नेछन्। सोही प्रकारले १९ नोभेम्बरको दिन नामाङकन पत्रको जाँच हुनेछ भने २१ नोभेम्बरको दिन नामाङकन पत्र फिर्ता लिने अन्तिम मिति रहेको छ। मतदाताहरूले बिहान ८ बजीदेखि बेलुकी ५ बजीसम्म मतदान गर्न सक्ने उनले थप बताएका छन्। यसमा उम्मेदवार कुनै पार्टीका हुने छैनन्। सबै स्वतन्त्र उम्मेदवार हुनेछन् जसमा जनताले श्रेष्ठ उम्मेदवारलाई जिताउन सक्ने उनले बताए। उक्त चुनाउमा अनुसूचित जनजातिको निम्ति ४० प्रतिशत सीट आरक्षण गरिएको छ,जसमा भोटिया लेप्चा समुदायको लागि २० प्रतिशत हुनेछ। यसरी नै अनुसूचित जाति ६ प्रतिशत,ओबीसी सेन्ट्रल २५ प्रतिशत,ओबीसी स्टेट २५ प्रतिशत र अनारक्षित ३ प्रतिशत रहेको छ। चुनाउको निम्ति आयोगले सबै सुरक्षा व्यवस्था गरेको पनि आयुक्तले जानकारी गराएका छन्।