नाम्चीमा नगरपालिका चुनाव २०२६ सम्बन्धमा सर्वदलीय बैठक सम्पन्न, तयारी र प्रक्रियाबारे जानकारी

n7058254451774376650996564700546cde1185e7071e0f932c339971c41a7d3df1fb8fa7fcbaa831a2a717

नाम्ची: नाम्ची जिल्लाकी जिल्लापाल तथा जिल्ला निर्वाचन अधिकारी अनुपा तामलिङले आज नाम्ची जिल्ला प्रशासनिक केन्द्रमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूसँग आगामी नगरपालिका चुनाव २०२६ सम्बन्धी छलफलका लागि आयोजित बैठकको अध्यक्षता गरेकी छन्।
बैठकमा एडीसी (मुख्यालय) सुभाष घिमिरे, एडीसी त्रिसाङ तामाङ, एएसपी विकास तिवारीसहित एसकेएम, सीएपी सिक्किम, एसडीएफ र भाजपाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
बैठकमा जिल्ला निर्वाचन अधिकारी तामलिङले राज्य निर्वाचन आयोगको निर्देशनअनुसार चुनाव तयारीबारे जानकारी गराउँदै नाम्ची जिल्लामा १२ वार्डका लागि १५ मतदान केन्द्र स्थापना गरिएको बताइन्। उनले चुनावलाई प्रभावकारी र व्यवस्थित रूपमा सम्पन्न गर्न दुई जना सेक्टर मजिस्ट्रेटसहित सेक्टर पुलिस र सम्बन्धित नोडल अधिकारीहरू तैनाथ गरिने जानकारी दिइन्।
उनले सबै राजनीतिक दलहरूलाई आयोगद्वारा जारी नियम र निर्देशनहरूको कडाइका साथ पालना गर्न आग्रह गर्दै कुनै पनि स्पष्टताका लागि निर्वाचन अधिकृतहरूसँग सम्पर्क गर्न अपील गरिन्। साथै, उनले पीएचई विभागका सचिव शैलेन्द्र शर्मालाई नाम्ची जिल्लाको निर्वाचन पर्यवेक्षक नियुक्त गरिएको र उनलाई पीडब्ल्यूडी बंगला मार्फत भेट्न सकिने जानकारी पनि दिइन्।
बैठकमा एडीसी त्रिसाङ तामाङ, एडीसी सुभाष घिमिरे र एएसपी विकास तिवारीले पनि चुनावसँग सम्बन्धित विभिन्न प्राविधिक तथा प्रशासनिक तयारीबारे जानकारी गराएका थिए। राजनीतिक दलका प्रतिनिधिहरूले विभिन्न जिज्ञासा राखेका थिए, जसको सम्बन्धित अधिकारीहरूले जवाफ दिएका थिए।
यसैबीच, नगरपालिका चुनाव २०२६ का लागि नामांकन प्रक्रिया सोमबारदेखि सुरु भएको छ। दोस्रो दिनसम्म कुनै पनि उम्मेदवारी दर्ता नभएको बताइएको छ। नामांकन दर्ताको अन्तिम मिति ३० मार्च तोकिएको छ।

About Author

Advertisement