वेलिंगटन: दक्षिण अफ्रिकाले चौथो टी२० इण्टरनेशनल क्रिकेट म्याचमा न्यूजील्याण्डलाई १९ रनले पराजित गरी ५ वटा म्याचको सीरीजमा २-२-को बराबरी हासिल गऱ्यो। यी दुई टीमबीच सीरीजको पाँचौं तथा निर्णायक म्याच बुधवार खेलिनेछ। वेलिंगटनको स्काई स्टेडियममा आइतवार टस जितेर पहिला ब्याटिंग गर्दै दक्षिण अफ्रिकाले २० ओभरमा ५ विकेट गुमाएर १६४ रन बनायो। त्यसपछि न्यूजील्याण्डको टीम १८.५ ओभरमा केवल १४५ रन बनाएर अलआउट भयो। दक्षिण अफ्रिकाको यस जीतमा विकेटकीपर ब्याटर कनर एस्टरहुईजेनको महत्त्वपूर्ण भूमिका रह्यो, जसले ५७ रन बनाउनको साथै २ वटा क्याच पनि लिए। उनलाई प्लेयर अव् द म्याच चयन गरियो। म्याचमा पहिला ब्याटिंग गर्दै दक्षिण अफ्रिकाले ओपनर वियान मुल्डरलाई ईनिंग्सको दोस्रो बलमै गुमायो, जो काइल जेमिसनको शिकार बने। यसरी शून्य रनमा पहिलो विकेटको पतनपछि एस्टरहुईजेनले टोनी डी जोर्जीसँग मिलेर टीमलाई अघि बढ़ाए। डी जोर्जीले धैर्यको साथ खेले पनि एस्टरहुईजेनले शुरुदेखि नै आक्रामक मिजासमा ब्याटिंग गरे। उनले ३६ बल खेलेर ७ वटा चौका र ३ वटा छक्का लगाए। डी जोर्जी र एस्टरहुईजेनले मिलेर दोस्रो विकेटको निम्ति ८१ रनको पार्टनरशीप गरे। यी दुईजना लगातार अन्तरालमा आउट भएपछि दक्षिण अफ्रिकाले सामान्य संघर्ष गर्नु परे पनि १६४ रनको चुनौतीपूर्ण स्कोर बनायो। रुबिन हरमान २८ रनमा अविजित रहे। यसबाहेक डियान फोरेष्टर र जेसन स्मिथले १९-१९ रन बनाए। यसरी जर्ज लिण्डे १४ रनमा अविजित रहे। न्यूजील्याण्डका बलरहरूमा काइल जेमिसनले सर्वाधिक २ विकेट लिए। जीतको निम्ति १६५ रनको लक्ष्यलाई पीछा गर्दै न्यूजील्याण्डको निम्ति शीर्ष क्रममा टिम रबिन्सन र डेन क्लेवरलाई छोड़ेर अन्य कसैले उल्लेखनीय योगदान दिन सकेनन्। ओपनर काटेन क्लार्क (९ रन) आउट हुँदा स्कोर केवल २८ रन रहेको थियो। त्यसपछि रबिन्सन र क्लेवरले मिलेर स्कोर ५२ रनसम्म पुऱ्याए। यी दुईजना लगातार अन्तरालमा आउट भएपछि न्यूजील्याण्डले म्याचलाई सम्हाल्न सकेन। दक्षिण अफ्रिकी बलरहरूले लगातार अन्तरालमा विकेट हासिल गरी टीमको जीत सुनिश्चित गरे। निक केलीले १९ र जेमिसनले १३ रन बनाए। यसबाहेक कोल म्याकोञ्ची र जोश क्लार्कसनले १०-१० रनको योगदान दिए। दक्षिण अफ्रिकी बलरहरूमा गेराल्ड कोएत्जीले सर्वाधिक ३ विकेट लिए।










