जुरेली बिर्खे र नौलाको पूजा

jhjhjhj

         जनै पूर्णे, तीज, कुसे औँसी गर्दागर्दै, भन्दाभन्दै दसैँको जमरे औँसीको दिन भोलि परेको छ। केही नगरौँ कतै नजाउँ,अलिनु दसैँ मानौँ न त भने पनि- एकापट्टि मान्छेले नामर्द, नास्तिकजस्ता नमिठा कुरा भनेर सुनाउने डर, गरौँ त के गरौँ छैनन् पैसा, हाटबजार पसलमा गन्ने। बिर्खे त्यसै अलमल्लमा परेको छ।  यत्तिकैमा अनि सजिलै  यत्रो दसैँ तिहार फिका जान दिने एकदमै ह्याउ नभएको मान्छे त होइन बिर्खे। तर छ-छवटा वर्सेनी जन्मेका तर्ल्याङतुर्लुङ केटाकेटीलाई चित्त बुझाउन एकदम सजिलो कुरा पनि कहाँ हो र! बिर्खे आफ्नो चतुरे मथिङ्गलमा कुरा खेलाउँदै छ। असलमा भन्नु हो भने दसैँ बिर्खेहरूजस्तै गरिब र निमुखाका निम्ति बनिएको हो भन्ने उसको आफ्नै अठोट छ। धनी र बाबुसाहेबहरूका निम्ति सधैँ दसैँ तिहार, सधैँ उत्तम खाना, गाना बजाना घरैमा हुन्छ। गरिबले मात्र मिठो खान र सुकिलो लगाउन दसैँ तिहारजस्ता चाडपर्वलाई पर्खनुपर्ने हुन्छ। जस्तै भए पनि देवी भगवतीको नाममा, आमिश निरामिश सबै खाले मानिसको छुट्टाछुट्टै हिसाबकिताब हुन्छ। दसैँको बेलामा निरामिश खानाको कुरा गर्ने मान्छेहरू साह्रै दुःख झेलेर बाँच्न बाध्य भएका होलान्  जस्तो लाग्छ बिर्खेलाई। किनकि दसै्को नाममा दही, चिउरा, केरा, पानीसाग ( माछा), भुत्लेसाग (मासु) डडुवासाग( परेवा, कुखरा), सुनापङ्खी भन्दा पनि हुने, यस्ता परिकार बनाएर खाने ठुलो अवसर हो। आहा, दसैँको थाप्लामा बसेर, पलेँटी कसेर, भुँडी तन्काएर, ओठ फर्काएर, जिब्रो पडकाएर निर्बिरोध खान पाइने मौका अरूबेला कहाँ हुन्छ र…! त्यो ऋण, धार, सापटी, हौलाती जेसुकै होस, त्यसबेला खाएको साँच्चै गरिबको निम्ति ज्यानमा लाग्छ।       बिर्खेका आफू जोईपोइ समेत आठजनाको सानो जहान। भगवानले दिएका छोराछोरी हुर्काउन अर्काको ढिकीजाँतो गर्नु परे पनि जुरेली खुसी छ। बिर्खे पनि मरिकुच्चे भारी बोक्नेदेखि ज्यालामा सबै काम गर्छ। ठुली छोरी भनेको बल्ल पाँचमा पढ्दै छ। भनौँ न दस कटेर एघार टेकेकी मात्रै। सरकारी स्कुल जान्छे, दिउँसो खान, स्कुले लुगा, त्यति भएन जाडोमा लगाउने सुइटरसमेत ड्यामै सबै सरदाम स्कुलबाटै पाँउछे। अर्को बल्ल स्कुल जाने बेलाको भएको छ। छेउका प्राइभेट स्कुल पढाउने हरि माष्टर छोरालाई राम्रो पढाउन हाम्रो स्कुलमा हाल्ने है बिर्खेदाई भन्दै छन्। तर बिर्खेले सबै अडकल काटेको छ। ऊ आफ्ना छोराछोरीलाई सरकारी स्कुलमै पढाउने कुरामा अडिग रहेको छ।

    अक्षेर एउटै हुन, माष्टर तीनै हुन, सरकारले मानिस शिक्षित तुल्याउन कति कति सुविधा दिएको छ, त्यसलाई लत्याएर प्राइभेट स्कुलमा पढाउने एकातिर हविगत छैन, अर्कोतिर ठाडै भन्दा बिर्खे जुरेलीको मन पनि छैन।

         यसरी  कनिकुथी चलेको जहानमा दसैँ मुखमा आउनु, कोरोनाको कहर परेर वर्षदिनभरिमा नौ महिना लकडाउन खेप्नु, यस्तै अड्चन तेर्छिएकाले नाथे एकजोडी परेवाको लागिसम्म सोच्नु पर्ने भएको छ। आजभोलि गर्दै कुलाइनको पूजा गर्ने दिन भोलि पर्‍यो।  भगवतीलाई चढाउने सुनापङ्खी जुटाउने चिन्तामा बिर्खे टाउको खियाउँदै छ। किनकि, नेपाली गोर्खालीहरूको दसैँ मात्रै होइन यसलाई अझ बडादसै भनिन्छ, सौभाग्य ठानिन्छ। यस्तो सौभाग्य जुरेको समयमा नौलाको पूजा गर्ने सुनापङ्खी अर्थात् उडुवासाग जुटाउने अर्थतन्त्र मिलाउनु छ आज। जुरेली र उसका चैत वैशाख जस्ता लहरै छवोटा छोराछोरी- हाम्रो बाबुले आज तातोझोलको मेलो कसैगरेर पनि मिलाउछन् भनेर ढुक्कसँग आफ्नो थान्कामा छन्। यी पूजा गरेर बुजा हाल्ने परेवालाई सुनापङ्खी उडुवासाग भन्नु परेको अर्थ छ। गाँउ ठाउँमा सबै खाले मान्छे छ्यासमिस बसेकै हुन्छ करेसो जोडेर। कोही कस्तो कोही कस्तो। तल्लाघरे ज्योतिषी बढाबा यो माछा मासु खानेलाई असुरान्न भक्षक, गिजा चपाउने आदि उपनामले उपहास गर्छन्। दसैँ तिहारको तीनपत्ति, टाकलु फट, हजारी,

रामी, टुवेन्टीनाइन, यस्तो दिमागी खेलमा टाउकाको पौष्टिक बर्धन हेतु दिनरातको भेद नहेरी बिताइ दिन्छन्। ऊ आफू भाटोजस्तो सुकेको, बाहुनी आमै चोयाजस्तो लचक्क छोराछोरी लुतेल्याङ्ग्रे सुत्ली र डोरी जस्ता खिरिला कठै! जहान परिवार सबै मिलाएर बोरामा हाल्नु भने बिर्खेले बोकेरै हिँड्न सक्ने। धेरै भए पाँचजना मिलाउँदा एक कुइन्टल माल। कसरी बाँचेका। गतिलो, रसिलो, दह्रिलो खाएपो ज्यान पनि कतै जिँउदो देखिन्छ। छैन दुध ठेक्कामा लाँउछन्, अलिकति मोही पारेर आमै घिउ बेच्न पल्किएकी छन्। चौलानी जस्तो मोही खाएर सबै पखालिएको होला भन्ने बिर्खेको ठहर छ।

तर पैसा भने छन् है बाजे मसँग। आहा दसैँ तिहार खाँचो गर्जो टार्न तयार हुन्छन्। पैसा सापटी लिने गरिन्छ, अन्ता परेवाको नाम संस्कृत जस्तो पारेर भनेको सुना पङ्खी भनेको चाहिँ ज्योतिषी बाकै निम्ति भए पनि हो। यसपालि बिर्खेले माथ्लाघरे चिरबिरे कान्छीका छिर्केमिर्के भाले पोथी परेवा मनमनै नौलालाई भाकेको हो। साँझ साँझ पारे ल्यायो विधि विधान गर्‍यो, तातोपानी ठीक पारेर मर्याकमुरुक पारेपछि भइसक्या छ। पैसा भनेको त दुई चारदि पछि भए पनि भइहाल्छ। तिथि कटेपछि नौलाको पूजा गर्छु भनेर हुँदैन। हरेक चिन्तापछि एउटा अचुक उपाय उसका दिमागमा खेलायो। पोहोर साल दसैँ र अरूबेला टिकोटालो गरेका जुरेली समेत केटाकेटीको व्यक्तिगत टोक्री, धुरीको खाँबोमा उसैले दुलो पारेर बनाइदिएको थियो। त्यो असलमा सप्तमी अष्टमी नवमी तीनैदिन देवी पूजा हेर्न नाटक र नाचगान हेर्न जाँदा वर्षदिनमा काटिने व्यक्तिगत बेम्बो बैङ्क अर्थात चुङ्गे ढुकुटी हो। त्यसमा जुरेली र अरु सबैले पैसा छिराएको बिर्खेका आँखाबाट छुटेको थिएन। त्यही बैङ्कमा हमला गर्न सकिन्छ। किन भने खाने त सबैले हो। कसो कसो ती पैसा हात परे भने  काम हुन कति बेर! साँझको बेला कोही नभएको मौका पारेर पुरानो आराले स्वाँइ स्वाँइ रेटेर बेम्बो बैङ्कमा बिर्खेले डकैती गर्‍यो र साँझ पर्नासाथ चिरबिरे कान्छीका घरमा हाजिर भयो। यसपालि परेवा पनि निकै पोटिला रहेछन्। थोत्रे झोला काखीमुनि लिएरै गएको थियो। बिर्खेले हत्तपत्त  कुरा मिलाएर परेवा झोलामा हालेर घरतिर लाग्यो। झन्डै ठुलोसाँझ परिसकेको थियो। परेवाका साँडे पहिले त घुत्लुक्कै बसेका थिए। खुट्टा पनि के बाँध्नु भन्ने लाग्यो। बिर्खे तेलमसलाको कुरा चिन्ता गर्दै खैनी मोल्दै आँउदै थियो, झोला खुकुलो भएको मौका छोपेर भाले परेवा कसो कसो निक्लेर उड्यो। ल उडेर अलि पर जाँदासम्म पनि उसले हाइ हुइ गर्दै समाउने कोसिस गर्‍यो। विभिन्न मुद्रामा गुडु गुडु गर्दा पनि परेवा हात पार्न सकेन बिर्खेले। एकछिनमा उडेर ठुलो शिमलको हाँगामा गएर बस्यो। अब उपाय छैन। कत्रो दिमाग खटाएर ल्याएको माल एउटाचाहिँ भुर्र उड्यो। जेहोस, कसैलाई सुँइको नपरी अघि बारीपुच्छरमा सन्ठी गाडेर  केराका पातले छाँगो हालेको नौलाको थानमा पुग्यो। देवी भगवती एउटै परेवाको पूजामा सन्तुष्ट भए पनि जुरेली एन्ड कम्पनीले प्रश्न तेर्छाउने डर धेरै छ। माल थोर भए मज्जले पिरो हालेपछि त्यसै स्वादिलो हुन्छ। त्यो उसको अन्तिम उपाय हो। हैन कति साह्रो बिग्रेका दसा पनि!

              घर पुगेर पूजाको सरदाम गर्दा थाह भयो, जुरेली पर सरेकी अरे। भात-भान्सा सबै आफैले गर्न पर्ने। यो दैवले सुविधा पारिदिए जस्तो छ, किनकि अब आफै बोक्सी आफै सुँडेनी। कसले थाह पाउने परेवा एउटा थियो या दुइटा थिए? भगवतीको कृपा। देवीको थानमा, लकेरा, चिउरा, फुलपाती आदिले सुनापङ्खी राखेर सिन्दुर लगाएर निकै बरबराएर पूजाआजा गरिन्छ। ऊ आफ्नै पाराले जानेजति सबै गर्दै आएको छ। यसो उसो अछेता परपरसम्म छर्किएको बेला तल्ला घरे गुरुङ सानेको छिर्केमिर्के भाले परेवा चामल टिप्न आइपुग्छ, ठुलो साँझ पर्दा पनि त्यो त्यतै चरिरहेको छ। बिर्खेको छ नम्बर इन्द्रीयले तुरुन्त निर्णय गर्‍यो कि यो पनि यसै पूजामा सामिल गर्न सकिने जिनिस हो। धारे पारेर भुत्ते खुकुरीको झट्टी हानेको खुत्रुक्कै भएछ। बिर्खेले मर्ने बेलामा मुखमा पानी हालिदियो। देवी भगवतीलाई सम्झियो, यो तिम्रै अपार महिमा हो भनेर दुई परेवालाई  मरक्क पारेर परक्कै मुन्टो घुमाएको भुतुक्कै भयो, रेडीमेड तातो पानीमा च्वाप्प चोभलेको मात्रै थियो घरमा अघिल्तिर गुरुङ साने बोलेको शब्द सुन्यो। उसलाई बुझ्न बाँकी रहेन साने भाले परेवाको खोजिमा आएको कुरा। हत्तपत्त केराको पातले माल छोपेर खुकुरीले थिचिकन सानेलाई उतै अलमल्याउने विचारले बिर्खे घर मसामु आयो। ”ल है साने दाई आज छेक पारेर नौलाको पूजा गरौँ भनेर चनमतीकोबाट एकजोर परेवा लाएको थियो, कसो कसो एउटा उडेर फुर्र भयो, आ त्यही एउटाले भगवतीको पूजा गरिँदै छ। अनि केही कुरा थियो कि साने दाई?” ” होइन हउ मेरो भाले परेवा गुडँमा नआएर अत्यास पार्‍यो, अहिले साँझमा।” ” ए गर्नु भएछ, म पूजा गर्दै थिएँ मात्र त्यो वनढाडे तपाईँको त्यताबाट ऊ पल्लो कान्लातिर हाम्फालेर जाँदै थियो, अघि अघि परेवा हाँस थियो। छिटो छिटो खोजी गर्न पर्छ साने दाई।”  “ए होर” भन्दै साने हतार हतार निक्लेर गएपछि उसले लामो सास फेर्ने मौका पायो ढुक्कसँग। गुरुङ साने ढाडेको पछि लाग्यो।बिर्खेले हतपत अघि भुत्ल्याएको परेवाका प्वाँख  कोदालीले जम्मै माटोमा पुरपार पारेर निश्चिन्त भएर मासु पकाउने तर्खरमा लाग्यो। दिँउसैदेखि आजको छाक पिरो स्वादिलो चखिलो हुने मर मसलो सबै सरदाम जुटाएको हो। आखिरमा जुरेली छुट्टीमा भित्र सुतेर सानोलाई लाम्टा चुसाउँदै यता भान्साघरको बिर्खेको कारबारमा पनि उत्तिकै ठाडा कान लगाई रहेकी छ। बुढाले यस्तो अवस्थामा यो नौलाको पूजासमेत बेलुकीको छाकमा जोर परेवा कसरी जुटाए त… भन्ने कुरा पनि चिन्ता गर्दै थिई। अइया आत्थो र साइसाइसुइसुइ गर्दै पित्ले बटुकामा उम्लिरहेको परेवाको झोल र एक-दुई टुक्रा मासु जुरेली सुतेको ठाउँमा पुर्‍याउन बिर्खेले कुदाउँदै ल्याएर सुरुप्प पारि हेरत, नुनभुटुन कस्तो भएछ, भन्यो। पिर्लिक्क कर्के नजरले हेर्दै जुरेलीले सुरुप्प पारी मज्जा भएछको इसारा गरी। ठीक त्यसै मौकामा घरको टोक्रे बैङ्क फोरेर भए पनि यतिसम्म गरियो भनेर बिर्खेले स्वास्नीको गाली गर्ने मुखको बिर्को थुन्यो। “अब नानी केटाकेटीलाई देवी पूजा हेर्न दुइचार रूपियाँको खाँचो टार्नु पर्‍यो”, भनेकी मात्रै थिई भित्र घत्र्याङ्ग गर्‍यो। बिर्खे कुदेर जाँदा त ढाडे बिरालो तरकारी वरिपरि झम्टिँदै रहेछ। यसो थाल पन्साएर हेरेको यत्रो ठूलो मुसो कराइका उम्लिँदो तातो झोलमा पौडी खेल्दै रहेछ। बबुरो ढाडेले खेदेको बेला जोगिन फाल हान्दा बिर्खेको नौलाको प्रसाद सुनापङ्खीको उम्लिरहेको झोलमा परेर भरखरै सहिद भएछ। तुरुन्तै कराइ झिकेर मुसो निकालेर भान्साको झ्यालबाट बाहिर फालिदिएर, अघि पूजा गरेको ठाउँमा भएको पानीले कराइको तर्कारीमा अभिषेक गर्‍यो। अब चैन्जो अझै एकझमट उमाल्न पाँउदा यसको विष मर्ने अनुमान गरेर त्यसै गर्‍यो। तत्पश्चात अँगेनाको भुङ्ग्रोमा हालेका खुट्टी र कासाबिसा नौलालाई नौतिर नौवटा पातमा राखी दिएपछि पूजा समापन घोषणा गरिएको सङ्केत उसका मनले दियो।अबउसो सबै एकैठाउँ बसेर अन्न ग्रहण कार्यक्रम सुरु गर्न बिर्खेले हुइप जारी गर्‍यो। यता ढाडेले पनि झ्यालबाहिरको मुसिक मांस लुछेको, जुरेली एवं कम्पनीले भातसँग सुनापङ्खीको झोल मुछेको एकै समयमा पर्‍यो।अथ नौला संवाद इति।।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement