हेलचेक्राई कि मौनता प्रश्न स्थानीयहरुको
खरसाङ: खरसाङ खण्ड अन्तर्गत तीनधारे महानदी समष्टिको विभिन्न स्थानहरुमा झैं सिविटार क्षेत्र तीन दिनदेखि अँध्यारोमा रहेको छ। गत सोमवारदेखि बिजुली बत्ती नभएर अँध्यारोमा रहेको सिविटार क्षेत्र मंगलवार र बुधवार पनि अँध्यारोमा नै बितेको छ। बुधवार राति समाचार लेख्दासम्म पनि बिजुली बत्तीको आपूर्ति भएको थिएन। सोमवार आएको आँधी हुरीले गर्दा खरसाङ क्षेत्रमा नै बिजुली बत्तीको सर्वाराह ठप्प भएको थियो। तर खरसाङ बजार क्षेत्रमा भलिपल्ट मंगलवार दिउँसोदेखि नै बिजुली बत्तीको सर्वाराह शुरु भएको थियो। महानदी, घैयाबारी क्षेत्रमा पनि बिजुली बत्ती आएको थियो। तर कमान बस्ती क्षेत्रमा पर्ने सिविटार क्षेत्रमा भने तीन दिनमा पनि बिजुली बत्तीको सर्वाराह शुरु भएको छैन। बिजुली बत्तीको सर्वाराह तीन दिनसम्ममा पनि आपूर्ति नहुनु भनेको विभागीय हेलचेक्राई हो कि जनप्रतिनिधिहरुको निष्क्रियता हो भनी स्थानीयहरुले प्रश्न उठाएका छन्। स्थानीयहरुले सोमवार ठप्प भएको बिजुली बत्ती बुधबारसम्म पनि नआएकोले विभाग समक्ष रोष व्यक्त गरेका छन्। बिजुली बत्तीको सर्वाराह ठप्प भएकोले अन्त्येष्टि कार्य पनि अँध्यारोमा नै बितेको तथा अन्य केही महत्त्वपूर्ण कामहरु गर्न नसकेको र स्थानीयहरुको फोन चार्च नभएर बन्द भएको अवस्थामा रहेको बताएका छन्। धेरैले स्कुटी र गाडीतिर फोन चार्ज गर्नु पर्ने बाध्यता भएको तर त्यो पनि राम्रोसितले चार्ज नभएको स्थानीयहरुले बताएका छन्। सिविटार क्षेत्रमा धेरै जनप्रतिनिधिहरु रहेको साथै विभिन्न राजनीतिक पार्टीहरुका प्रतिनिधिहरु भए पनि कसैले पनि यसतर्फ कार्य नगरिदिएको गुनासो पोखेका छन्। यसको साथै लगातार तीन दिनदेखि अँध्यारोमा रहेको गाउँको लागि कसैले केही पहल नगरेको पनि स्थानीयहरुले गुनासो पोखेका छन्। अहिलेका आधुनिक समयमा पनि तीन दिनसम्म बिजुली बत्तीविहीन अँध्यारोमा बस्नु पर्ने बाध्यता केवल कमान बस्तीलाई आई पर्ने गुनासो स्थानीयवासीको रहेको छ। बजार क्षेत्रमा तीन दिनसम्म बिजुली बत्ती छैन के होला तर कमान बस्तीको हालत कसले बुझ्ने भनी स्थानीयहरुले गुनासो गरेका छन्। स्थानीयहरुले अझ भने कि बिजुली बत्तीको बील बुझाउन केही दिन ढिलो भयो भने फोनमा मेसेज आउने गर्छ कि लाइन काँटिनबाट बाँच्नलाई नील झट्टै तिर्नु भनेर तर तीन दिनसम्म बत्ती नहुँदा बिभागले के गर्दैछ? यसको साथै तीन दिनसम्म बिजुली बत्ती नहुँदा स्थानीय जनप्रतिनिधिहरु र विभिन्न राजनीतिक पार्टीहरुका प्रतिनिधिहरु कता गए भनी स्थानीयहरुले प्रश्न गरेका छन्।







