गान्तोकः पूर्व सिक्किमको राङ्का राई गाउँमा निर्मित विश्वकै सबैभन्दा ठूलो गर्नुभयो। यस माङखिमको शिलान्यास पूर्व सरकारकालमा १७ नोभेम्बर २००९ को दिन तत्कालीन मुख्यमन्त्री पवन चामलिङले गरेका थिए जसलाई वर्तमान सरकारले पूरा गरेको छ। विश्वमै राई जातिको एक अनुसंधान केन्द्र हुने भनी दावी गरिएको माङ्खिमको उद्घाटन समारोह पनि दुई दिवसीय अन्तर्राष्ट्रिय कार्यक्रमको रुपमा आयोजना गरिएको छ जसमा अमेरिका, लण्डन, नेपाल साथै भारतका विभिन्न प्रान्तबाट अतिथिहरूले उपस्थिति जनाएका छन्। आज मुख्यमन्त्री गोलेले किरात राई जातिको परम्परा र विधिअनुसार पूजा गरेपछि माङ्खमिको विधिवत उद्घाटन गर्नुभयो। पछि कार्यक्रमलाई सम्बोधन गर्दै उनेले यो पारुहाङ साप्तेन माङ्खमि एवं अन्तर्राष्ट्रिय किरात राई भाषिक एवं सास्कृतिक अनसंधान केन्द्र सिक्किम राज्यको विकासको अर्को एउटा मुकुट हुने जसलाई अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार गरिनुपर्ने बताए।
लगभग ६५३४० वर्गफिट क्षेत्रमा निर्मित यस माङ्खिमको माथिल्लो भागमा राई जातिको महत्वपूर्ण पूजा स्थान तीनचुला अथवा सुप्तुलुङ स्थापना गरिएको छ भने ग्यालरी तथा मैदानको मध्य भागबाट देखिने गरि किरात राजा यलम्बरको मुर्ति स्थापना गरिएको छ। माङ्खिममा राई समुदायसँग सम्बन्धीत ३००० जति पुस्तक भएको पुस्तकालय, विभिन्न मुर्ती लगायत अन्य अध्ययन सामग्री पनि समावेश छ। माङ्खिमको प्राङ्गणको मध्य भागमा स्थापित पारुहाङ सुम्निमाको मुर्ति र यहाँबाट देखिने गान्तोकको मनोरम दृश्य पारुहाङ साप्तेन माङ्खिमको अर्को आकर्षण रहेको छ।

आज यसको उद्घाटन समारोहमा मुख्यमन्त्री पीएस गोलेकी धर्मपत्नी श्रीमती कृष्ण कुमारी राई, सिक्किम विधानसभा अध्यक्ष, उपाध्यक्ष, मन्त्रीगण, विधायकगण, विभागीय अध्यक्ष तथा सल्लाहकारहरु, सरकारी कर्मचारी, स्थानीय नागरिक तथा विभिन्न स्थानबाट आएका किरात राई समुदायका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पीएस गोलेले आजको कार्यक्रममा देश विदेशबाट प्रतिनिधिहरू आएर यस ऐतिहासिक कार्यक्रमलाई सफल बनाएकोमा आभार प्रकट गरे। तथापि, आज हुनुपर्ने कति अनुहारहरू आफूले नदेखेकोमा उनले दुःख पनि व्यक्त गरे। उनको इशारा पूर्व मुख्यमन्त्री पवन चालिङतिर थियो। यो कुनै राजनीतिक कार्यक्रम नरहेर विशुद्ध सामाजिक कार्यक्रम रहेको मुख्यमन्त्रीले आफ्नो सम्बोधनमा बताए। यस ऐतिहासिक कार्यक्रमलाई बहिष्कार गर्नु भनेको आफैलाई बहिष्कार गरेको जस्तै रहेको उल्लेख गर्दै मुख्यमन्त्री गोलेले आफू यहाँ कुनै पार्टीको अध्यक्ष तथा राजनेता भएर नआएको प्रष्ट पारे। आफ्नो सम्बोधनको क्रममा मुख्यमन्त्री गोलेले यस पूर्वाधारको आधारशिला राखेर निर्माणकार्य आरम्भ गरेकोमा पूर्व मुख्यमन्त्री पवन चामलिङलाई धन्यवाद पनि दिए।
यसरी नै कार्यक्रमलाई सम्बोधन गर्दै पारुहाङ साप्टेन उद्घाटन समितिका प्रमुख संरक्षक जेकब खालिङले पारुहाङ साप्टेन माङखिम राई जातिको मात्र होइन सम्पूर्ण सिक्किमेली जनसमुदायकै धरोहर रहेको बताए। उद्घाटन समितिका अध्यक्ष मोहन दुङमालीले पनि कार्यक्रममा सम्बोधन राखेका थिए। उनले आफ्नो सम्बोधनमा वर्तमान मुख्यमन्त्री पीएस गोलेको कारण अधुरो रहेको माङखमको निर्माणकार्य पूरा हुनसकेको भन्दै आभार व्यक्त गरे।
कार्यक्रममा नेपालकी प्रसिद्ध ब्याण्ड कुटुम्बद्वारा रोचक प्रस्तुति पेश गरियो भने राज्यका कलाकारहरूले पनि आ-आफ्नो नृत्य प्रस्तुत गरे। दुई दिवसीय उद्घाटन समारोहको दोस्रो दिन भोलि नेपालका प्रख्यात गायक राजेश पायल राईको सांगीतिक साँझ आयोजन गरिनेछ। यसरी नै कार्यक्रममा आयोजक समितिद्वारा मुख्यमन्त्री प्रेमसिंह तामाङ उनकी धर्मपत्नी श्रीमती कृष्ण राईलाई सम्बर्द्धना जनाइयो। यसैगरी, पारुहाङ साप्तेन माङखिम निर्माणमा महत्वपूर्ण योगदान पुऱ्याउने सबैलाई सम्बर्द्धना जनाइयो।








