खरसाङ: भविष्यको लागि तयार करियर कार्यक्रम विषयमा खरसाङको गडविन मोडर्न स्कूलमा एक कार्यक्रम सम्पन्न भएको छ। खरसाङ क्षेत्रमा रहेको एक मात्र मान्यताप्राप्त सीबीएसई बोर्डको स्कूल गडबिन मोडर्न स्कूलमा वर्तमान समयको मागलाई ध्यानमा राखेर नानीहरुलाई आधुनिक पध्दतिमा शिक्षा प्रदान गर्ने विषय अन्तर्गत भविष्यको लागि तयार क्यारियर कार्यक्रम आयोजना गरिएको छ। यस कार्यक्रममा स्वागत सम्भाषण सहदेव मुखियाले राखेका थिए। कार्यक्रममा शिक्षिकाद्वय रश्मि विश्वकर्म र श्रेया मंगरले नयाँ आधुनिक पध्दतिमा शिक्षा प्रदान गरिने विषयमा जानकारी गराएका छन्। दुवैले वर्तमान समयमा नानीहरुलाई करियरको लागि आधुनिक तरिकाले शिक्षा प्रदान गर्ने विषय बताएका थिए। विद्यार्थीहरुले शिक्षासितै सठीक रुपमा रोजगारी प्राप्त गर्ने विषयमा जोड दिएका थिए। दुवैले स्कूलमा निट, जेईई, एनडीए, होटेल म्यानेजमेन्ट लगायत विभिन्न क्षेत्रमा रोजगारको लागि आधुनिक तरिकाले शिक्षा प्रदान गर्ने गरेको जानकारी गराएका छन्। यस क्रममा भावना दर्नालले आर्टिफिसियल इन्टिलिजेन्ट एआई विषयमा जानकारी गराउँदै यो भविष्य रहेको र यसको शिक्षा आवश्यक रहेको बताइन्। कार्यक्रममा जीएसआईएचएमका निर्देशक रोशन शाहीले पनि वक्तव्य राखेका थिए। कार्यक्रममा स्कूलका प्राचार्य एंव निर्देशक अदित्य प्रधानले भारतको नयाँ शिक्षा व्यवस्था अनुसार स्कूलले पनि आधुनिक तरिकाले शिक्षा प्रदान गर्ने कार्य शुरु गरेको जानकारी गराएका छन्। उनले अबको समयमा नयाँ तरिकाले शिक्षा प्रदान गर्न आवश्यक रहेको र तक्निकी शिक्षा समयको माग रहेको बताएका छन्। उनले गडवीन मोडर्न स्कूलले परिवर्तनशील समय र वर्तमान समयलाई ध्यानमा राखेर भविष्यको लागि तयार करियर कार्यक्रम शुरु गरेको साथै यसको लागि स्थानीय संस्थाहरुसित मिलेर शिक्षा शुरु गरेको बताए। उनले स्कूलमा आर्टिफिसियल इन्टिलिजेन्ट एआई विषयमा पनि पढाई शुरु गरिएको कारण एआईले नै अहिले विश्व चलाएको र विश्व अर्थ व्यवस्था सञ्चालन गरिरहेको बताए।








