खरसाङ: खरसाङ महकुमा खेलकूद संघका एक कर्मठ सदस्य अनि खेलकूद भन्ने बित्तिकै मरिमेट्ने मोहनकुमार राईको असमायिक निधनमा खरसाङ महकुमा खेलकूद संघका सदस्यहरुले तिनको आत्मा शान्तिको निम्ति संघकै कार्यालयमा एउटा श्रद्धान्जली कार्यक्रमको आयोजना गरेको थियोl कार्यक्रमलाई संघका सचिव निर्मल गुरुङले संचालन गरेका थिए भने सर्वप्रथम तिनको तस्विर अघि धूप द्विप प्रज्योलन गरियो भने संघका सदस्यहरुद्वारा पुष्प माला पनि अर्पण गरियो। त्यसपछि स्व० मोहनकुमार राईको आत्मा शान्तिको निम्ति एक मिनटको मौन धारण गरियो। श्रद्धान्जली कार्यक्रमलाई सम्बोधन गर्दै संघका सचिव निर्मल गुरुङले मोहन राईको निधनमा गहिरो शोक व्यक्त गर्दै तिनी केवल खरसाङ महकुमा खेलकूद संघका मात्र नभएर खेलप्रेमी मानिसहरुको निम्ति एउटा उदहारण प्रस्तुत गर्ने व्यक्ति रहेको बताए। तिनको खेलप्रतिको योगदान सारा खरसाङले कहिले भुल्ने छैन भनी बताउँदै गुरुङले स्व. मोहनकुमार राई एक असल व्यक्तित्वका धनि रहेको जो जहिले पनि युवाहरुलाई नशालु पदार्थदेखि टाडो राख्ने मुहिममा अग्रज बन्ने भनी बताए। यसको साथै गुरुङले स्व. मोहनकुमार राईलाई तिनको गाउँवासीले एक अभिभावकको रुपमा हेर्ने गरेको बताए। सम्बोधनको क्रममा संघका अध्यक्ष मोहन योञ्जनले स्व. मोहनकुमार राईको निधनले संघलाई एउटा ठूलो बज्रपात भएको बताए। यस्तै प्रकारले संघका उपाध्यक्ष फुर्बा घिसिङले स्व. राई हुँदा संघले कुनै पनि खेलकूद प्रतियोगिताहरु निर्धक्क प्रकारले खेलाउने रहेको बताए। किनकि तिनले हामी मैदानमा पुग्न अघि नै सबै बन्दोबस्त गरिसकेको हुने बताए। वक्तव्यको क्रममा विजय राई, ललित सेवा, दिब्यत्तम अधिकारीले स्व. मोहनकुमार राईको निधन एउटा अपूर्णनीय क्षति रहेको भन्दै तिनको बैकुण्ठ बासको प्रार्थना पनि गरे। अन्तमा खरसाङ महकुमा खेलकूद संघका सचिव निर्मल गुरुङले यस दु:खत् क्षणमा सबैलाई हौसला राख्ने अनि स्व. मोहनकुमार राई एक खेलप्रेमी व्यक्ति रहेकोले आगामी दिनमा तिनको स्मृतिमा संघले तिनीप्रति साँचो श्रद्धान्जली अर्पण गर्न एउटा खेलकूद प्रतियोगिताको आयोजना गर्ने र त्यसको निम्ति सबै सदस्यहरु तन, मन् अनि धनले नै तयार भएर बस्ने गुरुंगले अनुरोध पनि गरे। ज्ञात रहोस् स्व. मोहनकुमार राई आफ्नो सैनिक जीवनदेखि अवकाश ग्रहण गरि सन २००७ मा खरसाङ महकुमा खेलकूद संघसित जोड़िएका थिए भने त्यसपछिदेखि नै संघले आयोजना गरेको सबै खेलकूद प्रतियोगिताहरुलाई सफल बनाउनमा तिनको भूमिका महत्वपूर्ण रहन्थ्ये।








