गान्तोक: केन्द्रिय गृह एवं सहकारिता मन्त्री तथा पूर्वोत्तर परिषदका अध्यक्ष अमित शाहको अध्यक्षतामा गुवाहाटीमा ७०औं पूर्वोत्तर परिषदको अधिवेशन सम्पन्न भयो। अधिवेशनमा पूर्वोत्तर क्षेत्रका विकास मन्त्री जी किशन रेड्डी, उत्तर पूर्वी राज्यका राज्यपालहरू र मुख्यमन्त्रीहरू पनि सहभागी बनेका थिए।
यसै क्रममा सिक्किमका राज्यपाल गंगा प्रसाद र मुख्यमन्त्री प्रेमसिंह तामाङ पनि अधिवेशनमा सहभागी बने। अधिवेशनमा राज्यपाल प्रसादले सिक्किममा नेटवर्क र कनेक्टिभिटीको विषयमा आफ्नो कुरा राखे। उनले राष्ट्रिय राजमार्गको सोचनीय स्थितिमाथि प्रकाश पार्दै यसको शीघ्र समाधानका लागि अनुरोध गरे। राष्ट्रिय राजमार्ग 10, जुन सिक्किमको जीवन रेखा हो, राष्ट्रिय सुरक्षाको दृष्टि र पर्यटन स्थल हुनुको कारणले यसमा तत्काल ध्यान दिन आवश्यक रहेको बताए।
राज्यपालले सिक्किममा चिवाभन्ज्याङको माध्यमद्वारा सिक्किम र पूर्वी नेपालबिच एउटा आधुनिक करिडोरको निर्माणको सुझाउ पनि राखे। यसले दुवै क्षेत्रको पर्यटन, सांस्कृतिक, आर्थिक, सामाजिक आदान-प्रदानलाई बलियो बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भनी उनले बताए।
राज्यपालले सिक्किम देशको एक्लो जैविक राज्य रहेको बताउॅंदै यहाँ केशरको खेती सम्भावनाबारे अवगत गराए। उनले यसका लागि केन्द्र सरकारबाट समर्थन एवं सहयोगको माग गरे।