९ अक्टोबरः ईंग्लिश प्रीमियर लीगमा म्यानचेष्टर सिटी र चेल्सीले जीतको क्रम जारी राख्यो। यसबीच टोटनह्याम हट्स्पर पनि जीतको लयमा फर्किन सफल भयो। असाधारण फर्ममा रहने म्यानचेष्टर सिटीले शनिवार राति खेलिएको म्याचमा साउथम्पटनलाई ४-०-ले पराजित गऱ्यो। आफ्नो होम ग्राउण्ड एतिहाद स्टेडियममा ६६ प्रतिशत पोजेशनको साथ खेल्दै सिटीले म्याचको दुवै हाफमा २-२ गोल छिरायो। सिटीको तर्फबाट जोआओ कानसेलोले २०औं, फिल फोडेनले ३२औं, रियाद माहरेजले ४९औं र एर्लिंग हालाण्डले ६५औं मिनटमा गोल गरे। सिटीले प्रीमियर लीगको जारी सीजनमा ९ वटा म्याचमा ३३ गोल गरेर केवल ९ वटा गोल खाएको छ। यस जीतको साथै सिटी ९ वटा म्याचमा २३ पोइण्टको साथ प्रीमियर लीग टेबलको शीर्ष स्थानमा कायम रह्यो। सिटीले यस सीजनमा एउटा म्याच पनि हारेको छैन। यसबीच साउथम्पटन चाहिँ ७ पोइण्टको साथ १६औं स्थानमा रहेको छ।

यसरी नै चेल्सीले वूल्भ्स (वूल्भरह्याम्प्टन) विरुद्ध ३-०-ले जीत हासिल गऱ्यो। आफ्नो होम ग्राउण्ड स्टेमफोर्ड ब्रीजमा ५८ प्रतिशत पोजेशनको साथ खेल्ने चेल्सीले धीमा शुरुवातपछि म्याचमा ३ गोल छिरायो। विजेता टीमबाट काई हावेर्त्जले मध्यान्तरको ठीक अघि स्टपेज टाइममा पहिलो गोल गरे। त्यसपछि क्रिस्टियन पुलिसिचले ५४औं अनि अर्मान्दो बोर्खाले ८९औं मिनटमा अझ २ गोल थपे। यस जीतको साथै चेल्सी ८ वटा म्याचमा १६ पोइण्टको साथ चौथो स्थानमा पुग्यो। प्रीमियर लीगमा चेल्सीको यो लगातार तेस्रो जीत हो। यसबीच वूल्भ्स चाहिँ ९ वटा म्याचमा ६ पोइण्टको साथ १८औं स्थानमा रहेको छ। टोटनह्यामले पनि आर्सनल विरुद्ध गत म्याचको निराशाजनक प्रदर्शनलाई भुलेर शनिवार राति ब्राइटन विरुद्ध १-०-ले जीत हासिल गऱ्यो। ब्राइटनको होम ग्राउण्ड फाल्मर स्टेडियममा टोटनह्यामबाट म्याचको एकमात्र गोल ह्यारी केनले २२औं मिनटमा छिराए।

यस जीतपछि टोटनह्याम ९ वटा म्याचमा २० पोइण्टको साथ तेस्रो स्थानमा पुग्यो। यसरी नै ब्राइटन ८ वटा म्याचमा १४ पोइण्टको साथ छैटौं स्थानमा रहेको छ। शनिवार राति खेलिएको प्रीमियर लीगका अन्य म्याचहरूमा बोर्नमाउथले लिस्टर सिटीलाई २-१-ले अनि न्यूक्यासलले ब्रेण्टफोर्डलाई ५-१-ले पराजित गऱ्यो। न्यूक्यासल अहिले ९ वटा म्याचमा १४ पोइण्टको साथ पाँचौं स्थानमा रहेको छ। यसरी नै बोर्नमाउथ १२ पोइण्टको साथ आठौं स्थानमा रहेको छ। १२औं स्थानमा रहने ब्रेण्टफोर्डसँग १० पोइण्ट रहेको छ।