गोरुबथान- गोरुबथानको विभिन्न क्षेत्रमा आज दिउँसो लगभग ३:१५ देखि परेको हात्ती सुड़े पानीले धेरै क्षति पुऱ्याएको खबर प्राप्त भएको छ। खबर लेखुन्जेलसम्म कुनै पनि जनधनको क्षति नभएको रिपोर्ट छ। लगभग अढाई घण्टासम्म लगातार रुपमा परेको हात्ती सुड़े पानीले लाभा रोड अन्तर्गत गोरुबथान पेट्रोल पम्प छेउमा रहेको खोल्साले ढुङ्गा, माटो बगाएर सडकमा थुपारेपछि लगभग आधा घण्टासम्म उक्त सडकमा गाडी गुड्न बन्द भयो। यसपछि जेसीबीद्वारा उक्त सडकको ढुङ्गा र माटोलाई हटाउने कार्य गरिएपछि पुन: गाडीको चलाचल शुरु भएको थियो। यसरी नै मुक्ति पिकनिक स्पटमा रहेको दोकानहरूमा चेल खोलाको एउटा भंगालो पसेर दोकानभित्र जलमग्न बनेको छ।

अर्कोतिर, मायालु बस्तीको छेउमा रहेको काब्रे खोलाले विकराल रुप धारण गरेपछि सडकको आधा भाग बगाएर लगेको छ। जसको कारण वरिपरिका बासिन्दाहरू चिन्तित बनेका छन्। खबर पाउनसाथ गोरुबथान खण्ड विकाश कार्यालयका कर्मचारी अनि ग्राम पञ्चायत कर्मचारीहरू उक्त स्थलहरूको भ्रमणमा पुगेको खबर प्राप्त भएको छ। यसरी हिउँद महिनाको शुरुवातपछि मौसम परिवर्तन भएर पानी बेसी पर्न थालेको छ। वर्खाको समयमा भने जस्तो पानी पर्न सकेको थिए, वर्खायाममा प्राय: जसो घाम लागेको थियो भने हिउँद महिना लागेपछि पानी पर्ने क्रम जारी छ। यसरी बेमौसम परेको पानीले ठुलै क्षति पुग्न सक्ने अनुमान लगाउन सकिन्छ। जसको निम्ति मानिसहरूलाई सतर्क भएर बसिदिने अनुरोध विभागको पक्षबाट गरिएको छ।