गान्ताेक: सिटिजन एक्सन पार्टी सिक्किम (क्याप सिक्किम) को आठौँ केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पार्टी अध्यक्ष गणेश राई को अध्यक्षतामा सम्पन्न भएको छ।
बैठकमा जनताको पक्षमा पार्टीलाई अझ सशक्त बनाउने उद्देश्यले भावी रणनीतिहरूबारे केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूले सक्रिय रूपमा बहस तथा छलफलमा सहभागिता जनाएको बताइएको छ।
बैठकलाई सम्बोधन गर्दै अध्यक्ष राईले गलत राजनीतिका कारण सिक्किमले लामो समयदेखि विभिन्न समस्या भोग्नुपरेको बताएका छन्। उनले संविधानले दिएको अधिकारको संरक्षण गर्दै नागरिकलाई सम्मानपूर्वक बाँच्न सक्ने वातावरण निर्माण गर्ने उद्देश्यका साथ पार्टी स्थापना गरिएको बताए।
उनले पार्टी केवल चुनाव जित्ने लक्ष्यका लागि मात्र नभई भ्रष्टाचारमुक्त र भयमुक्त सिक्किमेली समाज निर्माण गर्ने उद्देश्यले अघि बढिरहेको स्पष्ट पारे।
राईले जनताको हकहितका लागि गणेश राई लगायत सीएपी सिक्किमलाई रोक्ने वा छेक्ने हैसियत अहिलेसम्म कुनै शक्तिसँग नरहेको दाबी पनि गरे। साथै उनले पार्टी सिक्किम र सिक्किमेली जनताप्रति सधैं इमानदार रहेको उल्लेख गरे।











