८ अक्टोबरः बीसीसीआई (भारतीय क्रिकेट कण्ट्रोल बोर्ड)-का वर्तमान अध्यक्ष सौरभ गांगुलीको कार्यकाल चाँड़ै समाप्त हुनेछ। सूत्रबाट थाहालागे अनुसार, गांगुली यस पदमा कायम रहन इच्छुक छैनन्। यसैकारण बीसीसीआईको तर्फबाट आउँदो मीटिंगमा नयाँ अध्यक्ष चयन गर्ने प्रक्रिया शुरु गरिनेछ। यसबीच प्राप्त जानकारी अनुसार, भारतीय क्रिकेट टीमका पूर्व अलराउण्डर तथा १९८३ वर्ल्ड कप विजेता टीमका सदस्य रहने रोजर बिन्नीले सौरभ गांगुलीको स्थान लिन सक्छन्। रोजर बिन्नीले यसअघि बीसीसीआई चयन समितिका सदस्यको रूपमा काम गरेका थिए। यसैकारण पूर्व पेस बलर बिन्नीलाई बीसीसीआई अध्यक्षको रूपमा गांगुलीको स्थान लिन चाहनेहरूका सूचीमा सबैभन्दा अघि देख्न सकिन्छ। जय शाह चाहिँ बीसीसीआई सचिवको पदमा कायम रहने सम्भावना छ।
आउँदो १८ अक्टोबरमा हुने चुनाउहरू अनि वार्षिक आम बैठकमा केएससीए (कर्नाटक स्टेट क्रिकेट एसोसिएशन)-का सचिव सन्तोष मेननको स्थानमा बिहीवार एसोसिएशनका प्रतिनिधिको रूपमा रोजर बिन्नीको नाम बीसीसीआईको ड्राफ्ट इलेक्टोरल रोल्स (बीसीसीआईको वेबसाइटमा हालियो)-मा देखियो। यी सबै घटनाक्रमले पूर्व पेस बलरलाई बीसीसीआई अध्यक्ष पदको निम्ति सबैभन्दा अघि हुने सम्भावनालाई दह्रिलो बनायो। सूत्र अनुसार, सौरभ गांगुली आईसीसी (अन्तर्राष्ट्रिय क्रिकेट परिषद)-को अध्यक्ष पदको निम्ति भारतको प्रतिनिधि बन्ने सम्भावना छ। नामांकन ११ र १२ अक्टोबरमा भर्न सकिनेछ। नामांकनको जाँच १३ अक्टोबरमा हुनेछ अनि उम्मेद्वारहरूले १४ अक्टोबरसम्म आफ्नो नामांकन फिर्ता लिन सक्नेछन्। त्यसपछि १८ अक्टोबरमा चुनाउ हुनेछ।









