गान्तोक: एक दिवसीय भ्रमणमा केन्दीय गृह तथा सहकारी मन्त्री अमित शाह आज सिक्किम आइपुगे। बागडोगरा हवाई अड्डाबाट गृह मन्त्री शाह सेनाको हेलीकप्टरमा राजधानी गान्तोक आइपुगे। उनी यहॉंको लिबिङस्थित सेनाको हेलीप्याडमा अवतरण गरेपछि मुख्यमन्त्री प्रेमसिंह तामाङ, विधानसभा अध्यक्ष अरूण उप्रेती, मन्त्रीगण, विधायकगण तथा अन्य गणमान्य व्यक्तिहरूले शाहलाई स्वागत जनाए।

लिबिङ हेलीप्याडबाट अमित शाह राजभवनको निम्ति प्रस्थान भए। केन्द्रिय गृह मन्त्रीको स्वागतमा देवरालीदेखि जिरो पोइन्टसम्म राष्ट्रिय राजमार्ग १० छेउ मानिसहरू उभिएका थिए। यस अवधि विभिन्न समुदायहरूले आ-आफ्नो पारम्परिक पोशाक अनि वाद्यवादनका साथमा नाचगान गरेर केन्द्रिय गृह मन्त्रीको स्वागत जनाए।उल्लेखनीय छ, केन्द्रिय गृह तथा सहकारी मन्त्री अमित शाह आज राजधानीको मनन केन्द्रमा आयोजन हुने सहकारी दुग्ध सम्मेलनमा भाग लिन सिक्किम आएका छन्।








