गान्ताेक: मुख्यमन्त्री प्रेमसिंह तामाङ आज सिक्किम पुलिसद्वारा आयोजित डीजीपी/आईजीपी सम्मेलन र नीतिगत छलफल बैठकमा सहभागी भए। उक्त कार्यक्रम राजधानीको चिन्तन भवनमा आयोजना गरिएको थियो।
मुख्यमन्त्रीले कार्यक्रममा सम्बोधन गर्दै बल प्रयोगको सट्टा जनताको विश्वास, करुणा र निष्ठा पुलिस बलको वास्तविक शक्ति रहेको बताएका छन्। उनले सिक्किमको एकता, पारस्परिक सम्मान र सामाजिक सद्भावको लामो परम्परालाई उल्लेख गर्दै राज्यमा पुलिस सेवाले यी मुल्यलाई प्रतिबिम्बित गर्नुपर्ने आवश्यकता रहेको बताए।

मुख्यमन्त्री तामाङले नागरिकहरूप्रति मानवीय र सहानुभूतिपूर्ण दृष्टिकोण राख्दै, अपराधीहरूका विरुद्ध दृढ रहन र सम्झौता नगर्न पुलिसलाई आह्वान गरे। उनले सिक्किम पुलिसको युनिफर्मलाई पहिचान, गौरव, अनुशासन र कर्तव्यको प्रतीक मान्दै, राज्यका पुलिसलाई राज्यभित्र र बाहिर उच्च सम्मान प्राप्त भएकोमा प्रशंसा गरे।
सम्बोधनमा उनले समावेशी र मानवीय मुल्यमा सरकारको दृढ विश्वासको कुरा गर्दै, शान्ति र सामाजिक सद्भावलाई विघटन गर्ने तत्वहरूसँग कडाइका साथ व्यवहार गर्ने कुरामा बल दिए। साथै, पुलिस र प्रसिक्यूशनको पूरक भूमिकामा प्रकाश पार्दै, तिनीहरूलाई न्याय वितरण प्रणालीका अविभाज्य स्तम्भको रूपमा चिन्हित गरे।

मुख्यमन्त्रीले सिक्किम पुलिस बललाई पूर्ण समर्थन व्यक्त गर्दै, जनताको सुरक्षा र कल्याणका लागि पुलिस संस्थालाई सुदृढ पार्ने प्रतिबद्धता व्यक्त गरे।








