खरसाङ: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाको बाहुलीबाट तीनधारेमा मिठाईडाँडा रेणुका कन्या उच्च माध्यमिक विद्यालयको नयाँ भवन र तीनधारेको गोलाई पाखामा सार्वजनिक भवन निर्माणको लागि शिलान्यास गरेका छन्।

तीनधारेको मिठाईडाँडा रेणुका कन्या उच्च माध्यमिक विद्यालय परिसरमा आयोजित कार्यक्रममा उक्त शिलान्यास कार्यक्रम सम्पन्न भएको छ। यस कार्यक्रममा प्रमुख अतिथिको रुपमा जीटीए प्रमुख अनित थापा उपस्थित रहेका थिए भने विशिष्ट अतिथिको तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री, खरसाङ पञ्चायत समितिको सभापति अनु छेत्री, विद्यालयको पूर्व प्रधान अध्यापिका मातृका गजमेर, घैयाबारी ग्राम पञ्चायत दुईको पञ्चायत प्रधान भगवती प्रधान, कर्माध्यक्ष साजन दर्जी लगायत अन्यहरु उपस्थित रहेका थिए। यसै कार्यक्रममा रेणुका कन्या उच्च माध्यमिक विद्यालयको नयाँ भवनको शिलान्यास जीटीए प्रमुख अनित थापाको उपस्थितिमा क्षेत्रीय सभासद नवराज छेत्री, प्रधान अध्यापिका अनुपमा दियाली, पूर्व प्रधान अध्यापिका देवकी प्रधान सुब्बा लगायत अन्यको बाहुलीबाट पूजा अर्चनासहित भूमि पूजन गरेर शिलान्यास कार्य सम्पन्न गरिएको छ। शिक्षक युवराज सुन्दासले सञ्चालन गरेको यस शिलान्यास कार्यक्रममा स्वागत सम्भाषण प्रधान अध्यापिका अनुपमा दियालीले राखेकी थिइन्। मिठाईडाँडा रेणुका कन्या उच्च माध्यमिक विद्यालयको नयाँ भवन र तीनधारेको गोलाई पाखामा निर्माण हुन लागेको सार्वजनिक भवन पश्चिम बंगाल ग्रामीण विकास, दार्जिलिङ कार्यकारी डिभिजनबाट निर्माण हुन लागेको छ।

मिठाईडाँडा रेणुका कन्या उच्च माध्यमिक विद्यालयको नयाँ चार तले भवन निर्माण हुने भएको छ जसमा माथिल्लो तलामा हल पनि हुने भएको छ। यस नयाँ भवनको लागत लगभग ५ करोड ३० लाख रुपियाँ रहेको जानकारी प्राप्त भएको छ। यसको साथै तीनधारे क्षेत्रको लागि गोलाई पाखास्थित मित्र संघमा लगभग ३ करोडको लागतमा सार्वजनिक भवन निर्माण गरिने भएको छ। यस शिलान्यास कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले गीत, नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा विद्यालयकी भूतपूर्व विद्यार्थी एवं गायिका शर्मिला रसाइलीले गीत प्रस्तुत गरेका थिए।
कार्यक्रममा तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीले तीनधारे क्षेत्रमा भईरहेको विभिन्न विकास कार्यहरुको विषयमा विस्तृत जानकारी गराएका थिए। उनले तीनधारेमा नयाँ स्कूल भवन र तीनधारेको गोलाई पाखामा सार्वजनिक भवन निर्माणको लागि शिलान्यास गरिएकोमा जीटीए प्रमुख अनित थापालाई धन्यवाद दिएका छन्। त्यसरी नै विद्यालयकी भूतपूर्व प्रधान अध्यापिका एंव वरिष्ठ साहित्यकार मातृका गजमेर आदिले नयाँ स्कूल भवनको लागि सबैलाई बधाई दिएकी छन्। उनले यस विद्यालय भवन निर्माण गरिने कुराले आफु पनि धेरै खुशी रहेको पनि बताइन्।
यसै कार्यक्रममा रेणुका कन्या उच्च माध्यमिक विद्यालयको तर्फबाट जीटीए प्रमुख अनित थापालाई सम्मान जनाइएको थियो। यसको साथै तीनधारे क्षेत्रका विभिन्न संघ संस्थाहरु र पार्टी प्रतिनिधिहरुद्वारा जीटीए प्रमुख अनित थापालाई सम्मान जनाइएको छ। सन् १९७२ मा स्थापना भएको रेणुका कन्या उच्च माध्यमिक विद्यालयको भवन हालमा अत्यन्तै जीर्णावस्थामा पुगेको थियो। कुनै पनि समय हुन सक्ने खतरालाई मध्यनजर राख्दै विद्यालयको तर्फबाट बारम्बार निवेदन पत्र चढाउने गरेको र यसपाली जीटीए प्रमुख अनित थापाले साथ दिएर नयाँ भवन निर्माण गरिदिने भएको छ। यस शिलान्यास कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै विद्यालयकी विद्यालय प्रमुख अनुपमा दियाली देवानले नयाँ भवनको लागि जीटीए प्रमुख अनित थापालाई धन्यवाद दिएका छन्। उनले लामलो समयदेखि रहेको माग पूरा भएकोमा खुशी व्यक्त गर्दै जीटीए प्रमुख अनित थापालाई धन्यवाद दिएका छन्। त्यसरी नै पत्रकारहरुलाई सम्बोधन गर्दै तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीले विस्तृत रुपमा जानकारी गराएका छन्।








