खरसाङ: जीटीएको प्रमुख कार्यपाल अनित थापाले महानदी तीनधारे समष्टिको कालीमाटीमा सार्वजनिक भवन निर्माणको लागि शिलान्यास र नवनिर्मित एउटा घरको उदघाटन पनि गरेका छन्। स्थानीयहरुका निम्ति कालीमाट्टीमा ५० लाख ७४ हजारको लागतमा सार्वजनिक भवन निर्माण गरिने भएको छ। उक्त सार्वजनिक भवन निर्माणको लागि जीटीए प्रमुख अनित थापाको उपस्थितिमा क्षेत्रीय सभासद नवराज छेत्री लगायत अन्यले शिलान्यास गरेका छन्। कालीमाटी क्षेत्रमा रहेको प्रगति समाजको ६०-६५ घरहरुलाई यस सार्वजनिक भवनले गर्दा सुविधा हुने भएको छ। यस क्षेत्रमा सार्वजनिक भवन नभएकोले धेरै असुविधा भईरहेको थियो। अब यस क्षेत्रमा सार्वजनिक भवन निर्माण भएपछि धेरै सुविधा हुने भएको छ। यस सार्वजनिक भवनबाहेक जीटीए प्रमुख अनित थापाले कालीमाटीमा स्थानीय गोपाल तामाङको नव निर्मित घरको पनि उदघाटन गरेका छन्। उक्त घर जीटीए प्रमुख अनित थापाको सहयोगमा निर्माण भएको छ। त्यसपछि उनले कालीमाटीमा स्थानीय जनताको विभिन्न समस्याहरु समाधानको लागि भेटघाट पनि गरेका थिए।

यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै प्रगति समाज कालीमाटीको सभापति राजेस प्रधान र सदस्य रिङ्देन तामाङले स्थानीय समाजको तर्फबाट सार्वजनिक भवनको लागि जीटीए प्रमुख अनित थापालाई धन्यवाद दिएका छन्। यस कार्यक्रममा क्षेत्रीय सभासद नवराज छेत्री, घैयाबारी ग्राम पञ्चायत तीनको पञ्चायत प्रधान, उप प्रधान, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको पदाधिकारीहरु लगायत अन्यहरु उपस्थित रहेका थिए।










