खरसाङ: जीटीए युवा मामिला एवम् खेलकुद विभागको सहयोगमा खरसाङ फूटबल एसोसिएशनको तत्त्वावधान अनि आयोजित चौथो गोर्खा चेली महिला फूटबल टुर्नामेण्टमा बिहीवार एउटा म्याच खेलियो। स्थानीय चानमारी खेल मैदानमा आज भएको म्याचमा शेयर फूटबल क्लबले काकरभिट्टा फूटबल क्लबविरुद्ध २-१-ले जीत हासिल गऱ्यो। शेयर एफसी-को तर्फबाट सोना छेत्री र पाल्मु तामाङले १-१ गोल गरिन्। यसरी काकरभिट्टा एफसी-को तर्फबाट सुजु राईले गोल गरिन्। विजेता टीमकी पाल्मु तामाङले प्लेयर अव् द म्याच को ट्रफी जितिन्।

आज खेलिएको म्याचको सञ्चालन हिल्स रेफरीज एसोसिएशनका रेफरीहरू प्रतीक गुरुङ, प्रमोद प्रधान, दावा डोमा भूटिया र रेबिका प्रधान (फोर्थ अफिसियल)-ले गरेका थिए। टुर्नामेण्टमा जम्मा १२ वटा शीर्ष टीमहरूले हिस्सा लिएको छ। फाइनल ८ मार्चमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

यसको साथमा दुईवटा सेमिफाइनलिष्ट टीमहरूलाई २५-२५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।









