वीरपाडा – प्रत्येक वर्ष मनाइने गोर्खा सम्प्रदायको महान चाड फूलपाती, बडा दशैंको शुभ उपलक्ष्यमा गत सप्तमीको दिन फूलपाती शोभायात्रा विभिन्न झाँकीहरूका साथ नेवार , मगर, गुरुङ , तामाङ, राई, लिम्बू, शेर्पा, भुजेलका जातीय एंव उपजातीय पारम्परिक पहिरनमा सजिएर असंख्यौं संस्कृतिप्रेमी मानिसहरूका उपस्थितिमा सम्पन्न भयो। एकता, सद्भावना, भाइचारा दर्शाउँदै एकैसुत्रमा बाँधिएर बडा दशैं अनि तिहारको शुभेच्छा, शुभकामना दिँदै हिँडने एकमात्र अवसर फूलपाती शोभायात्रामा यसपाली वीरपाडा नेपाली उच्च विद्यालयको खेलमैदानदेखि कलेज रोड , वीरपाडा थाना , रेलवे गेट , पुरानो बस स्ट्यान्ड अनि चौपत्ती हुँदै पुन: मैदानतर्फ फर्किआएको शोभायात्रामा माक्रापाडा, दलमोर, बन्दापानी , रामझोडा , दुम्सीपाडा , लङ्कापाडा , तुलसीपाडा, बन्दापानी, कालापानी, गारोचिरा, वीरपाडाका मानिसहरूले टन्टलापुर घामको पर्वाह नगरी लगभग ८ कि° मी° को दुरी तय गरेको थियो ।

शोभायात्रा समापनपछि रङ्गारङ्ग कार्यक्रमबिच मध्य डुवर्समा फूलपाती शोभायात्राको परम्परालाई सन् १९९३ देखि निरन्तर गर्दै आइरहेको छ। समाजमा भाषा जगेरासितै संस्कृतिको पनि सम्वर्द्धन गर्दै आइरहेका वरिष्ठ संस्कृति कर्मी लङअकापाडा निवासी अशोककुमार थापालाई दोस्रो फूलपाती गौरव सम्मान पुरस्कार ‘मध्य डुवर्स फूलपाती शोभायात्रा समिति -२०२२’ को पक्षबाट प्रदान गरियो । समितिका अध्यक्ष सिबी प्रधान अनि सचिव कृष्णबहादुर श्रेष्ठको बाहुलीबाट सम्मान पत्र, मगर वेशभूषा, संयोजक लक्षुमन लिम्बुको बाहुलीबाट सम्मान पुरस्कार राशि ५००१/- प्रदान गरी सम्मान जनाइयो । डुवर्सको छोरी भारतीय राष्ट्रीय महिला फुटबल खेलाडी अञ्जु तामाङलाई फूलपाती शोभायात्रामा सम्मानका साथ वीरपाडा क्षेत्रमा परिक्रमा गराइयो। भव्य कार्यक्रम बीच अञ्जु तामाङलाई समितिका अध्यक्ष सिबी प्रधान अनि सचिव कृष्णबहादुर श्रेष्ठको बाहुलीबाट सम्वर्द्धना पत्र, दोसल्ला अनि जातीय हतियार खुकुरी अनि टोपी पहिराएर सम्वर्द्धना जनाइयो। समितिका अध्यक्ष सिबी प्रधानको अध्यक्षतामा सम्पन्न फूलपाती शोभायात्रा एवम् सांस्कृतिक कार्यक्रममा समितिका सचिव कृष्णबहादुर श्रेष्ठले स्वागत वक्तव्य राखेका थिए।

कार्यक्रममा विशिष्ट अतिथिको रूपमा विधायक मनोज तिग्गा, मदारीहाट पञ्चायत समितिका सभापति रोहित विश्वकर्मा, जिल्ला परिषद सदस्य जसिन्ता लाकडा, भारतीय राष्ट्रीय महिला फुटबल खेलाडी अञ्जु तामाङ, दोस्रो फूलपाती गौरव सम्मान प्रापक अशोककुमार थापा, समाजसेवी विशाल गुरुङ, जुगेश राई, रबिन राई, मणिकुमार दर्नाल, गोपाल प्रधान, जय प्रकाश टोप्पो, अलोक गुह आदिको विशेष गरिमामय उपस्थिति रहेको थियो। स्वागन थापा, सुनील दर्नाल अनि बुद्धिमान लामाद्वारा सञ्चालन गरिएको उक्त कार्यक्रममा समितिका अध्यक्ष, सचिव तथा अतिथिहरूको बाहुलीबाट पूजा अर्चना, शक्ति पूजा, लिङ्गे पिङ साथै राष्ट्पिता महात्मा गान्धीको प्रतिकृतिमा माल्यार्पण गरी गान्धी जयन्ती पालन गरियो। कार्यक्रममा खुल्ला लोक गीत, सामूहिक नृत्य, खुल्ला झाँकी प्रतियोगिता सम्पन्न भयो। प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रोलाई ट्रफी, पुरस्कार राशि सहित अन्यलाई प्रमाण पत्र वितरण गरियो। संस्कृति जगेरा नगरे जातीको पहिचानमा सङ्कट हुन सक्ने साथै लोप हुनबाट संस्कृति र परम्परा बचाउन हामी सबै गोर्खे समाजको मुल कर्तव्य हो भनी सम्मानपछि पुरस्कार प्रापक अशोककुमार थापाले बताए । सम्मानले अझ उत्तरदायित्व बढेको बताए। भारतीय राष्ट्रीय महिला फुटबल खेलाडी अञ्जु तामाङले आफ्नो छोरा छोरीको रूचिमाथि अभिभावकले ध्यान दिन अति आवश्यक रहेको बताए। डुवर्समा धेरै प्रतिभाहरू छन्। मौकाको आशमा रहेको छ प्रतिभाहरू भने।








