खस भारतीय हितकारी सम्मेलन केन्द्रीय समितिको सभा सम्पन्न

IMG-20260223-WA0058

कालेबुङ: खस भारतीय हितकारी सम्मेलन केन्द्रीय समितिको सभा कालेबुङको मंगलधाममा केन्द्रीय अध्यक्ष मदनकुमार मिश्रको अध्यक्षतामा सम्पन्न भयो। सभाको शुभारम्भमा गत १७ जनवरीको दिन वर्ष २०२६ देखि २०२९ सम्म तीन वर्षको लागि केन्द्रीय समितिमा निर्वाचित भएका पदाधिकारीहरूलाई निर्वाचन अधिकारीद्वय साहित्यकार ज्ञान सुतार र डि.के. छेत्रीद्वारा माल्यार्पण गराई प्रमाणपत्र प्रदान गरेका थिए। नयाँ कार्यकारिणी समितिमा अध्यक्ष-मदनकुमार मिश्र, महासचिव- बलभद्र शर्मा फुयेल, संयुक्त सचिव कृष्ण छेत्री, कोषाध्यक्ष अनिरुद्र रावत, प्रशासनिक सचिव मेघनाथ छेत्री, प्रचार-प्रसार सचिव प्राध्यापक मेघनाथ छेत्री लगायत उपाध्यक्षहरू, सहसचिवगण, कार्यकारी सदस्यवर्ग आदि रहेका छन्। सभाले केही सदस्यहरुलाई केन्द्रीय समितिमा थप मनोनीत गरेका छन्। सभामा 18 जनवरीको दिन कालेबुङको मेलाटारमा सम्पन्न भएको खस भारतीय हितकारी सम्मेलन केन्द्रीय दशौं महाधिवेशनको व्यापक समीक्षा गरिएको थियो ।महाधिवेशन आयोजक समितिका सचिव टङ्क छेत्रीले महा अधिवेशनका तिता-मिठा अनुभवहरू साझा गर्दै पारदर्शी ढङ्गमा महाअधिवेशनका आयव्ययको प्रतिवेदन प्रस्तुत गरेका थिए। महाधिवेशनको भव्य सफलताको लागि साथ र सहयोग दिनुहुने सबैलाई आयोजक समितिकाो पक्षमा सचिव टङ्क छेत्री र सभापति रमल बुढाथोकीले आभार प्रकट गरेका थिए। महाधिवेशनको ऐतिहासिक सफलताको लागि केन्द्रीय समितिको तर्फबाट आयोजक समिति तथा कालेबुङ आञ्चलिक समितिलाई प्रशंसा स्वरूप स्मृति चिन्ह प्रदान गरेका थिए। समीक्षा सभालाई मदनकुमार मिश्र, बलभद्र शर्मा, एसके खड्का, नितु शर्मा , रोशन ठकुरी, राजु छेत्री, रविन बास्तोला,गगन शर्मा, कृष्ण छेत्री लगायत अन्य धेरैले सम्बोधन गर्दै महा अधिवेशनमा देखिएका सकारात्मक र नकारात्मक पक्षहरूलाई औल्याउँदै समग्रमा दशौँ केन्द्रीय महाधिवेशन विभिन्न दृष्टिकोणबाट भव्यता र सभ्यताको रूपमा सफल भएको मन्तव्य सबैले दिएका थिए। सभामा सम्मेलनका भावी विभिन्न कार्य योजनाहरूबारे अध्यक्ष मदनकुमार मिश्रा र महासचिव बलभद्र शर्मा फुँयेलले जानकारी दिदैँ विभिन्न आञ्चलिक समितिहरुलाई कार्यभारहरु सुम्पिए जसमा खस प्रतिभाहरूलाई सम्मान ( मङ्गपु), उभौली पूजा (मिरिक), गोठधुप पूजा (बिजनबारी), युवा सम्मेलन (दार्जिलिङ), संसारी माई पूजा (तकदाह), उधौली पूजा( च्याँगा -पानीघट्टा), मष्ट पूजा (कालेबुङ),लगायत विभिन्न स्थानहरूमा विद्यार्थीहरूलाई करियर काउन्सिलिङ गराउने योजनाहरु मुख्य रहेको छ। सांसद कोषबाट बाघडुग्राको गोसाईँपुरमा निर्माण भएको खस भवनको माथिल्लो तल्ला निर्माणहेतु रहल रकम आधारको डीपीआर सम्बन्धित निकायमा बुझाईसकेको साथै खस भवनको देखरेख र सुचारु व्यवस्थापनको लागि च्याँगा पानीघट्टा आञ्चलिक समितिलाई जिम्मेवारी दिइएको कुरो महासचिवले सभामा जानकारी दिए। केन्द्रीय समितिद्वारा त्रय मासिक / अर्द्ध वार्षिक रुपमा प्रकाशित गरिने खस खबरलाई पुनः नियमित रुपमा प्रकाशित गर्ने निर्णय लिएको छ। अध्यक्ष मदनकुमार मिश्रले सम्पूर्ण पदाधिकारीहरूलाई आफ्ना जिम्मेवारी आधारमा अति नै निष्ठापूर्वक कार्य गरेर संगठनलाई मजबुत बनाउने निवेदन गर्दै केही दिनअघि केन्द्र सरकारद्वारा पठाइएका इन्टरलोक्युटरसँग जनजाति महासंघको साथमा भेटघाटका समयमा गरिएका मुख्य कुराहरू अवगत गराउँदै विशेष जनजातिको मान्यता सम्बन्धमा नै उनीसँग वार्तालाप भएको कुरो बताए। सभाको सञ्चालन कृष्ण छेत्रीले अनि पूर्व सभाको प्रस्ताव पठन मेघनाथ छेत्रीले गरेका थिए।

About Author

Advertisement