गान्ताेक: नेसाप (नेपाली साहित्य परिषद) सिक्किमको १४औँ कार्यकारिणी समितिको चुनाव आज विकास क्षेत्रस्थित परिषद भवनमा सम्पन्न भएको छ। मतदानपछि चुनाव समितिले ११ जना विजयी उम्मेदवारको नाम औपचारिक रूपमा घोषणा गरेको छ, जसमा तीन जना निर्विरोध निर्वाचित भएका छन्।
यस चुनावमा नेसाप सिक्किमका पूर्व अध्यक्ष हरि ढुङ्गेल पुनः अध्यक्ष पदमा निर्वाचित भएका छन् भने वरिष्ठ पत्रकार भीम राउत महासचिव पदमा विजयी भएका छन्।
उपाध्यक्ष पदमा नीलम न्यौपाने र रत्न लक्सम सुब्बा, प्रशासन एवं विधि सचिवमा लुइस बिष्ट, प्रचार–प्रसार सचिवमा हेमराज अधिकारी, कार्यकारिणी सदस्यमा पेम नर्बु शेर्पा र खुसेन तिम्सिना निर्वाचित भएका छन्।
यसैगरी, साहित्य एवं संस्कृति सचिवमा तुलसी घिमिरे कश्यप, कोषाध्यक्ष पदमा जीएस सुब्बा, र कला एवं संस्कृति सचिवमा गणेश ढुङ्गेल निर्विरोध निर्वाचित भएका छन्।
नवनिर्वाचित कार्यकारिणी समितिको कार्यकाल आगामी तीन वर्षका लागि रहने बताइएको छ।










