एसएसपीकाे झण्डा एचएसपीलाई हस्तान्तरण

IMG_20221005_205954.jpg

गान्तोक: पूर्व मुख्यमन्त्री तथा एसएसपीका पूर्व अध्यक्ष स्वर्गीय नर बहादुर भण्डारीको ८२औं जन्म जयन्तीको अवसरमा, सिक्किम संग्राम परिषद (एसएसपी) ले आफ्नो झण्डा हाम्रो सिक्किम पार्टी (एचएसपी) लाई हस्तान्तरण गरेको छ। एचएसपीका अध्यक्ष भाइचुङ भोटियाले पनि एचएसपीको झण्डा सहर्ष स्वीकार गरेका छन्।

स्वर्गीय भण्डारीको ८२औं जन्म जयन्तीको अवसरमा आज एसएसपीका वरिष्ठ उपाध्यक्ष कमल राईले पार्टीको झण्डा भाइचुङ भोटियालाई हस्तान्तरण गरे। उनले पार्टीकी अध्यक्ष दिल कुमारी भण्डारी र सचिव डीबी बस्नेतको आशीर्वादसहित रातो र सेतो रंगको झण्डा एचएसपीलाई हस्तान्तरण गरिरहेको बताए। उनले यदि आज स्व. भण्डारी जीवित भएको भए भाइचुङ भोटिया जस्ता युवा नेतालाई सिक्किमको भिजनको ध्वजवाहक हेर्न रूचाने थिएॅं भनी बताए।

एचएसपीका अध्यक्ष भोटियाले पनि झण्डा स्वीकार गर्दै अब यो सेता र रातो रंगको झण्डा हाम्रो सिक्किम पार्टीको आधिकारिक झण्डा रहेको घोषणा गरे। उनले स्व. भण्डारीको सम्मान, उनका विरासतलाई अगाडि बढ़ाउन र विकसित सिक्किमको भिजनका लागि यस्तो निर्णय लिएको बताए।

यस अवसरमा एसएसपीका प्रचार सचिव तारा भट्टराई हाम्रो सिक्किम पार्टीमा सामेल भएको कुरा विज्ञप्तिमा उल्लेख छ। अध्यक्ष भोटियाले उनलाई स्वागत जनाउॅंदै उनका अनुभवहरूले पार्टीलाई धेरै फाइदा पुग्ने विश्वास व्यक्त गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement