अम्बटेको कुमालटारमा आईजीजेएफको‌ बुथ कमिटी गठन

IMG-20260220-WA0091

खरसाङ: खरसाङ महकुमा अन्तर्गत अम्बटेको कुमालटारमा ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको बुथ कमिटीको औपचारिक गठन गरिएको छ। यस अवसरमा पार्टीका केन्द्रीय समिति सदस्य तथा प्रवक्ता आर.के. शर्मा, लगायत चिम्नी–देवराली ग्राम पञ्चायतका प्रधान तथा केन्द्रीय समिति सदस्य बिमल तामाङको विशेष उपस्थिति रहेको थियो।
सभामा स्थानीय कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय सहभागिता देखिएको थियो। सोही अवसरमा लगभग 40 परिवारले औपचारिक रूपमा ईण्डियन गोर्खा जनशक्ति फ्रण्ट पार्टीमा प्रवेश गरेर आफ्नो आस्था र समर्थन व्यक्त गरेका छन्। नवप्रवेशी परिवारहरूलाई नेतृत्वद्वारा खादा ओढाएर स्वागत गरिएको थियो।
उपस्थित नेताहरूले संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार तथा गाउँस्तरमा पार्टीको आधार मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरे। केन्द्रीय समिति सदस्य तथा प्रवक्ता आर.के. शर्माले आफ्नो मन्तव्यमा अम्बटे क्षेत्रमा संगठनलाई अझ सक्रिय, जनमुखी र अनुशासित रूपमा अघि बढाउने बताउँदै युवाशक्ति र आम जनताको सक्रिय सहभागिताले मात्र सशक्त परिवर्तन सम्भव हुने धारणा राखेका थिए। उनले खरसाङ क्षेत्रसहित सम्पूर्ण पहाडमा पार्टीको संगठनलाई बलियो बनाउँदै जनताको आवाज बुलन्द गर्ने प्रतिबद्धता व्यक्त गरे। यसैगरी, बिमल तामाङले ग्रामस्तरबाटै सशक्त संगठन निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताउँदै कुमालटार बुथ गठनले क्षेत्रीय राजनीतिक सशक्तिकरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। कुमालटार बुथ गठनसँगै ईण्डियन गोर्खा जनशक्ति फ्रण्टले अम्बटे क्षेत्रमा आफ्नो संगठनात्मक आधार थप सुदृढ बनाएको दावी गरिएको छ।


कुमालटार बुथ गठन प्रक्रियामा प्रकाश छेत्री तथा मणिकुमार प्रधानको प्रमुख भूमिका रहेको विशेष रूपमा उल्लेख गर्दै पार्टीले उनीहरूको सक्रियता र समर्पणप्रति हार्दिक धन्यवाद ज्ञापन गरेको छ।

About Author

Advertisement