२८ मईः सिलगढ़ीको सेलेसियन कलेजमा आज फूटबल नक्षत्रहरूका जमघट भयो। सञ्जु सेलेसियन फूटबल एकाडमीको उद्घाटन समारोहको अवसरमा शनिवार सेलेसियन कलेज मैदानमा नेशनल अल स्टार टीम र सञ्जु सेलेसियन एफए-बीच प्रदर्शनीय म्याच खेलियो। नेशनल अल स्टार टीममा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान बनाइसकेका दिग्गज खेलाड़ीहरूका उपस्थिति रहेको थियो, जसमा एकाडमीका प्रमुख सञ्जु प्रधान, विकास जैरु, निर्मल छेत्री, नादोङ भूटिया, नविन गुरुङ, कोमन ठटाल, नगेन तामाङ, निलेन्द्र देवान, रेवांग लेप्चा, सुजीत सिंह, आदर्श लामा, पेम्बा राई, इन्द्रजीत छेत्री र राज सुब्बा प्रमुख थिए। म्याचमा नेशनल अल स्टार टीम ५-२-ले विजयी भयो। म्याचमा अमिर लामाको प्रशिक्षणमा रहने सञ्जु सेलेसियन एफए-को टीमले पनि असल प्रदर्शन गर्दै स्टार खेलाड़ीहरूलाई कड़ा चुनौती दियो। फूटबल एकाडमीको उद्घाटन गरेपछि सञ्जु प्रधानले यस एकाडमीको माध्यमले खेलाड़ीहरूलाई स्तरीय शिक्षाको साथमा फूटबलको विश्व स्तरीय सुविधाहरूका साथमा सटीक प्रशिक्षण प्रदान गरिने बताए।
 
								



 
								

 
															 
                     
								 
								 
															 
								 
								





