हैटीमा हैजाले मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने डब्ल्युएचओको चेतावनी

00-Cholera

जेनेभा: हैटीमा हैजाको प्रकोपका कारण मृत्यु हुनेको सङ्ख्या जानकारीमा आएकोभन्दा निकै बढी हुनसक्ने अधिकारीहरूले बताएका छन्। हैटीमा हैजाको प्रकोपका कारण मृत्यु हुनेको सङ्ख्या रिपोर्ट गरिएको भन्दा ‘अत्यधिक बढी’ हुन सक्ने र सङ्क्रमितको अवस्था थप बढ्न सक्ने अनुमान गरिएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले मङ्गलबार चेतावनी दिएको छ। संकटग्रस्त क्यारेबियन राष्ट्रमा हैजाका कारण कम्तीमा सात जनाको मृत्यु भएको आइतबार जनाइएको थियो। हैटीमा हैजाको महामारीको पछिल्लो पटक पुष्टि भएको करिब तीन वर्षपछि पुनः महामारीको पुनः उत्थान हुने आशङ्का बढेको छ।

राजधानी पोर्ट–ओ–प्रिन्सको किनारामा रहेको क्यारेफोर–फ्युइल्स र तटीय क्षेत्र साइट सोलेइलमा थुप्रै शंकास्पद सङ्क्रमित फेला परेका डब्ल्यूएचओले जनाएको छ। यी क्षेत्रहरू पूर्णतया लडाकू गुट तथा समूहहरूद्वारा नियन्त्रित छन् र जुलाईको अन्त्यदेखि स्वास्थ्य अधिकारीहरूलाई यस क्षेत्रको पहुँचमा धेरै गाह्रो भएको छ। हैटीमा हालैका हप्ताहरूमा नाकाबन्दी, इन्धनको अभाव, विरोध प्रदर्शन, लुटपाट र आम हडतालका कारण स्थिति बिग्रिएको छ। विश्व स्वास्थ्य सङ्गठनका प्रवक्ता क्रिश्चियन लिन्डमेयरले जेनेभामा पत्रकारहरूसँग भने, ‘यो अवस्थाले मानवीय प्रतिक्रियालाई निकै जटिल बनाएको छl स्थिति द्रूत गतिमा विकसित भइरहेको छ, र पहिलेका सङ्क्रमित पत्ता नलागेको हुनसक्ने सम्भावनालाई नकार्न सकिन्नl’ उनले मृतकको सङ्ख्या अझै धेरै हुनसक्ने बताए।

उनले भने, ‘मानवीय अवस्था, सरसफाईको स्थिति र गिरोह–नियन्त्रित क्षेत्रहरूमा सङ्क्रमित सङ्ख्या उच्च रहेको हुनसक्ने र बढ्ने अपेक्षा गर्नुपर्दछ। लडाकू समूहको नियन्त्रण भएका क्षेत्र नियन्त्रण गर्न, परीक्षण गर्न वा सहयोग ल्याउनको लागि हामीलाई कुनै पहुँच छैन। लिन्डमेयरले मुखबाट दिइने हैजाको खोप खरिदका लागि अन्तर्राष्ट्रिय समन्वय समूहमा निवेदन दिने तयारी भइरहेको बताए। यद्यपि, विश्वव्यापी खोपको उपलब्धता सीमित छ र मागले आपूर्तिलाई उछिनेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement