बंगलादेशमा बीएनपी विजयी हुँदा किन हौसिए ओली र प्रचण्ड?

IMG-20260217-WA0073

भद्रपुर: विद्यार्थी आन्दोलनको करिब डेढ वर्षपछि बंगलादेशमा हालै आम निर्वाचन भयो। निर्वाचनमा कुल ३०० मध्ये २१२ सिट जित्दै बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) विजयी भयो। यो दुई तिहाइ भन्दा बढी सिट हो।
बंगलादेशको चुनावी नतिजालाई लिएर नेपालमा पनि राजनीतिकवृत्तमा निकै चर्चा भइरहेको छ। बंगलादेशमा आन्दोलनको बलमा भएको चुनावबाट पुरानै शक्ति उदाएपछि नेपालका पुराना दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) लगायत हौसिन थालेका छन्।
फरबरी १५ मा झापा पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालमा पनि बंगलादेशकै जस्तो चुनावी अवस्था हुने जिकिर गरेका थिए। बंगलादेशमा आन्दोलनबाट उदाएको दलले ६ सिट मात्र हात पारेको छ। चुनावमा पुरानै दल बलियो भएर आएकोमा ओली उत्साहित देखिएका थिए।
फरबरी १४रुकुम पूर्वको चुनबाङमा आयोजित कार्यक्रममा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पनि नेपालमा बंगलादेश जस्तै अवस्था हुने धारणा राखेका थिए। आगजनी र हिंसात्मक गतिविधि फैलाउनेहरूलाई जनताले अस्वीकार गरेको सन्देश बंगलादेशको चुनावले दिएको जिकिर गर्दै उनले नेपालमा चुनावी परिणाम त्यस्तै आउने दाबी गरेका थिए। प्रचण्डले सामाजिक सञ्जालमा लोकप्रिय भएर पनि चुनाव जित्न सकिँदैन भन्दै सामाजिक सञ्जालमा ७५ लाख फलोअर्स भएका व्यक्ति नै हारेको उदाहरण दिएका थिए।
जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले पनि विध्वंश मच्चाउँदै राजनीतिमा स्थापित हुन आएका युवालाई बंगलादेशका मतदाताले अस्वीकार गरेको बताए। लोकप्रियता मञ्चन गर्ने दलहरूको हविगत भारत, थाइल्याण्डमा पनि त्यस्तै भएको उनको भनाइ थियो ,
‘अब नेपालमा पनि फागुन २१ गतेको निर्वाचनले देश जलाउने, लुट्ने र ठग्ने सिद्धान्तविहीन, नैतिकताविहीन, संघीयताविरोधी र मधेस विरोधी दललाई सफाया गर्ने निश्चित छ,’ उनले भने।
बीएनपी बंगलादेशको पुरानै पार्टी हो, तर जुलाई क्रान्तिलाई यसले समर्थन गरेको थियो। आन्दोलनको नेतृत्व गरेका केही विद्यार्थीहरूले बनाएको नेसनल सिटिजन्स पार्टी (एनसीपी) ले इस्लामवादी दल जमात–ए–इस्लामीसँग गठबन्धन गरेर पनि ६ सिट मात्र जितेको छ।
बीएनपी ४७ वर्ष पुरानो पार्टी हो। उक्त पार्टीले चार पटक सरकारको नेतृत्व गरिसकेको छ। शेख हसिना नेतृत्वको अवामी लिग र खालिदा जिया नेतृत्वको बीएनपीबिच सुरुदेखि नै प्रतिस्पर्धा थियो। अहिले पनि बंगलादेशमा त्यही अवस्था आएको टिप्पणी भइरहेको छ। बंगलादेशमा लामो समय आलापालो यी दुवै दलले नेतृत्व गर्दै आएका थिए।
२०२४ मा विद्यार्थी आन्दोलन हुँदा अवामी लिगकी शेख हसिना नेतृत्वको सरकार थियो। विद्यार्थी आन्दोलनका कारण शेख हसिना नेतृत्वको सरकार ढलेको मात्र होइन, हसिनालाई देश छाडेर नै भाग्नुपरेको थियो। अहिले उनी भारतमा शरण लिएर बसेकी छिन्।
बीएनपीले विद्यार्थी आन्दोलनलाई पूर्ण समर्थन थियो, नेपालमा जेनजी आन्दोलनलाई राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको समर्थन जस्तै।
अवामी लिग पार्टीलाई निर्वाचनमा भाग लिन प्रतिबन्ध लगाइएको थियो। त्यसैले निर्वाचन परिणामलाई लिएर शेख हसिना प्रश्न उठाएकी छिन्।
बीएनपी र अवामी लिगबिच तात्विक फरक देखिँदैन। फरक यति हो यसपटक बीएनपीको नेतृत्व नयाँ नेता तारिक रहमानको हातमा छ। उनी पूर्वप्रधानमन्त्री खालिदा जियाका छोरा हुन्। तर तारिकमाथि भ्रष्टाचारको आरोप छ। आमा प्रधानमन्त्री भएको बेला त्यसको गलत फाइदा लिएको टिप्पणीहरु भइरहेका छन्। खालिदा जियाको केही महिनाअघि निधन भएको थियो। संसद्मा दुईतिहाइ सिटका साथ तारिक बंगलादेशको नयाँ प्रधानमन्त्री बनिसकेका छन्।
बंगलादेशमा पुरानै दलले जितेर आउँदा नेपालमा के होला?
अन्तर्राष्ट्रिय मामिलाका जानकार एवं नेपाल इस्टिच्युट फर इन्टरनेसनल कोअपरेसन एण्ड इग्गेजमेन्टका अनुसन्धान निर्देशक प्रमोद जयसवाल भन्छन्, ‘नेपालमा बंगलादेशको जस्तो चुनावी नतिजा आउँदैन, दुवै देशको निर्वाचन प्रणाली फरक भएका कारण नतिजा उस्तै आउँदैन।’
बंगलादेशमा समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था छैन, त्यहाँ प्रत्यक्ष प्रणालीमा मात्र चुनाव हुन्छ। नेपालमा प्रत्यक्ष र समानुपातिक दुवै भएका कारणले बंगलादेशभन्दा निर्वाचन परिणाम स्वत: फरक आउने उनी बताउँछन्। ‘यसपटकको चुनावमा रास्वपाले सबभन्दा बढी समानुपातिक मत पाउँछ, गत चुनावमा एमालेले जति समानुपातिक मत पाएको थियो, त्यो भन्दा पाँच प्रतिशत बढी मत रास्वपाले पाउनेछ,’ उनी आकलन गर्छन्, ‘त्यो हिसाबले रास्वपा ठुलो दल बन्ने सम्भावना छ।‘
अर्को कुरा, बंगलादेशमा जहिले पनि अवामी लिग र बीएनपीबिच नै प्रतिस्पर्धा हुँदै आएको हो। यसअघि अवामी लिग सरकारले बीएनपीमाथि प्रतिबन्ध लगाएको थियो। जसकारण यसअघिको निर्वाचनमा अवामी लिग ठुलो पार्टी भएर आएको थियो। यसपटकको चुनावमा अवामी लिगमाथि प्रतिबन्ध लगाउँदा बीएनपी ठुलो दल बनेर आएको छ।
पूर्व राजदूत टंक कार्कीको विश्लेषण अलि फरक छ। ‘अतिवादको विरुद्धमा बंगलादेशका जनताले मतदान गरेका छन्। नेपालमा पनि त्यही अवस्था आउँदैन भन्न सकिँदैन,’ उनी भन्छन्, ‘जेनजी आन्दोलनको नाममा नेपालमा पनि अतिवादको विकास भइरहेको छ, जुन देशका लागि नराम्रो संकेत हो। आन्दोलनको नाममा जुन घुसपैठ भयो त्यसलाई रोक्ने चुनावले नै हो र सम्भवतः बंगलादेश र थाइल्याण्डकै जस्तो नेपालमा पनि चुनावी परिणाम आउन सक्छ।‘
थाइल्याण्डमा हालै सम्पन्न आम निर्वाचनमा पनि बंगलादेशकै जस्तो अवस्था देखिएको थियो। सामाजिक सञ्जालमा अत्यधिक लोकप्रिय देखिएको प्रगतिशील राजनीतिक शक्ति अन्ततः केही सिटमा सीमित भयो। प्रधानमन्त्री अनुटिन चार्नभिराकुल नेतृत्वको भुमजाइथाइ पार्टीले उल्लेखनीय सफलता हासिल गर्दै निर्णायक शक्ति बन्यो।
प्रगतिशील पार्टी (पिपुल्स पार्टी) सहरी क्षेत्रमा मात्र सीमित रह्यो। ग्रामीण मतदाताले पिपुल्स पार्टीलाई पत्याएनन्। यो पार्टी निर्वाचनमा दोस्रो स्थानमा सीमित भयो भने फेयु थाइ पार्टी तेस्रो भयो। थाइल्याण्ड र बंगलादेशको निर्वाचनले साझा राजनीतिक प्रवृत्ति देखाएको पूर्वराजदूत कार्की बताउँछन्।

About Author

Advertisement