गानैताेक: सूचना कार्यालय, रायपुरको संयोजनमा छत्तीसगढ़का १२ सदस्यीय पत्रकार प्रतिनिधिमण्डलले आज सिक्किमका राज्यपाल ओमप्रकाश माथुरसँग लोकभवनमा शिष्टाचार भेट गरे।
प्रतिनिधिमण्डल १५–२१ फरवरीसम्म सिक्किमको अध्ययन प्रवासमा रहेको छ र राज्यमा केन्द्र सरकारद्वारा सञ्चालित महत्वकांक्षी परियोजना, बुनियादी ढाँचा विकास तथा सामरिक महत्वका विकास कार्यहरूको प्रत्यक्ष अवलोकन गर्नेछ।
राज्यपाल माथुरले सिक्किमलाई स्वच्छ र पर्यावरणप्रति जागरुक राज्य भन्दै राज्यका विभिन्न पहलहरूको सराहना गरे। उनले महिला प्रधान राज्यको पहल, पर्यटन विकास र ऐतिहासिक रणभूमि स्थलहरू जस्तै चोला पास र डोकाला पासको महत्वबारे पनि जानकारी गराए।
पत्रकारहरूले राज्यपालसँग सडक र हवाई सम्पर्क, जैविक उत्पादको बजार र पर्यटन ढाँचा सम्बन्धी प्रश्नहरू सोधे। राज्यपालले केन्द्र र राज्य सरकार मिलेर यी क्षेत्रहरूलाई सुदृढ बनाउने प्रयास भइरहेको जानकारी दिए।
प्रतिनिधिमण्डलमा छत्तीसगढ़का १० वरिष्ठ पत्रकार, एक अधिकारी र एक कर्मचारी सहभागी छन्। साथै, पीआईबी सिक्किमबाट सहायक निर्देशक मानस प्रतिम शर्मा र टोलीको नेतृत्व सहायक निर्देशक सुदीप्त कर र पुरुषोत्तम झाले गरिरहेका छन्।
भ्रमणको क्रममा पत्रकार टोलीले पुरानो लोकभवनको अवलोकन गरे र केन्द्र प्रायोजित परियोजनाहरू जस्तै सेवक रम्फू रेलवे, नथुला पास, बाबा मन्दिर, छाङ्गु पोखरी, पेलिङ स्काई वक र भारतीय वनस्पति सर्वेक्षण केन्द्रको भ्रमण गर्ने कार्यक्रम रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
राज्यपालले यस प्रकारको अन्तर राज्यीय मिडिया संवादले राष्ट्रिय एकता सुदृढ पार्ने, विकास कार्यहरूको जानकारी व्यापक बनाउने र देशको प्रगतिमा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गरे।










