गान्तोक: नेपाली साहित्य परिषद् (नेसाप) सिक्किम र तुलसीराम शर्मा ‘कश्यप’ प्रतिष्ठान, सिक्किमको संयुक्त तत्वावधानमा महाकवि तुलसीराम शर्मा ‘कश्यप’ को ८७औँ जन्मजयन्ती परिषद् भवनको सभाकक्षमा बुधबार विविध कार्यक्रमका साथ मनाइएको छ।
कार्यक्रममा वरिष्ठ कथाकार उषा शर्मालाई उनको कथा सङ्ग्रह ‘गन्तव्य’ का लागि दशौँ ‘कश्यप’ स्मृति पुरस्कार प्रदान गरिएको छ। उक्त जानकारी नेसापका प्रचार सचिव जोसेफ लेप्चाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
वरिष्ठ भाषाविद् प्रा. रुद्र पौड्यालको प्रमुख आतिथ्य तथा परिषद्का अध्यक्ष हरि ढुङ्गेलको अध्यक्षतामा सम्पन्न समारोहमा पुरस्कृत साहित्यकार उषा शर्माले उक्त सम्मानले आफूलाई साहित्य सृजनामा अझ जिम्मेवार बनाएको बताइन्। ‘यहाँसम्म आइपुग्न ‘प्रतिभा मिलन’ जस्ता मासिक साहित्यिक कार्यक्रमको ठूलो योगदान छ,’ उनले भनिन्।
मुख्य अतिथि प्रा. पौड्यालले कश्यप पुरस्कार स्थापना र जन्मजयन्ती आयोजनामार्फत ‘कश्यप’ लाई जीवन्त राख्ने प्रयास प्रशंसनीय रहेको बताए। उनले पुस्तक प्रकाशन बढ्दो क्रममा रहे पनि पाठक सङ्ख्या घट्दै गएको उल्लेख गर्दै पठन संस्कृतिको प्रवर्द्धनमा जोड दिनुपर्ने धारणा राखे।
अध्यक्ष हरि ढुङ्गेलले कार्यक्रम बहुआयामिक रूपमा सफल रहेको उल्लेख गर्दै ‘कश्यप सङ्गीत’ को अवधारणालाई संस्थागत रूपमा अघि बढाउन सके नेपाली सङ्गीत क्षेत्रका लागि पनि महत्वपूर्ण उपलब्धि हुने बताए।
समारोहमा डा. कृष्ण सापकोटाले महाकवि ‘कश्यप’ को व्यक्तित्व र कृतित्वमाथि कार्यपत्र प्रस्तुत गरे। यस्तै, भारतको चौथो नागरिक सम्मानबाट सम्मानित सानु लामाको साहित्यिक योगदानबारे डा. टेकबहादुर छेत्रीले विश्लेषणात्मक प्रस्तुति दिए।
कार्यक्रममा ‘कश्यप’ का काव्यकृतिबाट गजलकार सीता शर्मा ‘शीत’ ले कविता वाचन गरिन् भने आलिषा छेत्री र शेरबहादुर कार्कीले आफ्ना स्वरचित कविता प्रस्तुत गरे। ‘कश्यप’ द्वारा रचित तथा जीवन शर्माद्वारा सङ्गीतबद्ध गीत गायक गणेश ढुङ्गेलले प्रस्तुत गरेका थिए।
परिषद्की उपाध्यक्ष भक्ति शर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा कश्यप प्रतिष्ठानका सदस्यहरू, साहित्यकार तथा स्थानीय भाषा–साहित्यप्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।










