स्थापना दिवस भव्य बनाउने एसडीएफको निर्णय, ‘नवनिर्माण’मा जुट्न अध्यक्ष चामलिङको आह्वान

n70069604517709249637592339be1e146b703afa65d44ef23cf7dc0d1522f96d0815112a0bbc38fdc31b7b

जोरथाङ: सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) ले आगामी ४ मार्चमा स्थापना दिवस भव्य रूपमा मनाउने निर्णय गरेको छ। बिहीबार दक्षिण सिक्किमको जोरथाङस्थित गरिब उत्थान भवनमा सम्पन्न पार्टीको महत्त्वपूर्ण सभाले उक्त निर्णय गरेको हो।
एसडीएफ अध्यक्ष पवन चामलिङको अध्यक्षतामा सम्पन्न सभामा पार्टीका पदाधिकारीहरू उपस्थित थिए। पार्टी प्रवक्ता योजना खालिङ राईले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार स्थापना दिवसलाई व्यापक सहभागितासहित विशेष कार्यक्रमका रूपमा मनाइनेछ।
सभामा अध्यक्ष चामलिङले पार्टी कार्यकर्तालाई सक्रिय रूपमा संगठन निर्माण र जनसम्पर्कमा लाग्न आह्वान गरे। उनले राजनीति व्यक्तिगत स्वार्थपूर्तिको माध्यम नभई जनताको सेवाका लागि गरिने कर्म भएको उल्लेख गर्दै एसडीएफ सधैं सिक्किम र सिक्किमेली जनताको पक्षमा उभिएको दाबी गरे।
सिक्किमको ‘नवनिर्माण’का लागि निरन्तर लागिरहनुपर्नेमा जोड दिँदै चामलिङले जनतालाई असल सरकारको आवश्यकता रहेको बताए। उनले एसडीएफले मात्र जनताको सुरक्षा सुनिश्चित गर्ने सुदृढ प्रणाली निर्माण गर्न सक्ने दाबी गरे।
‘एसडीएफ सरकारको पालामा सुरु गरिएको जैविक अभियान विश्वले सिक्यो,’ उनले भने, ‘हामीले निर्माण गरेको प्रणाली फेरि विश्वले अनुकरण गर्नेछ। हामी सिर्जनशील, नवप्रवर्तनकारी र प्रतिस्पर्धी राजनीति गर्दै सिक्किमलाई नवनिर्माणमार्फत नयाँ सभ्यतातर्फ लैजानेछौँ।’
अध्यक्ष चामलिङले एसडीएफ र आफूले सिक्किमेली जनतालाई कहिल्यै धोका नदिने प्रतिबद्धता पनि व्यक्त गरे।

About Author

Advertisement