कोलकाता: दुर्गा पूजा पश्चिम बङ्गालमा धुमधामका साथ मनाइँदैछ, आयोजकहरूले आफ्नो फरक थिमका साथ आगन्तुकहरूलाई आकर्षित गर्न हरसम्भव प्रयास गरेका छन्। दक्षिण कोलकाताको रुबी पार्क नजिकै अखिल भारत हिन्दू महासभाद्वारा निर्माण गरिएको माँ दुर्गाको मूर्तिमा राखिएको महिषासुरको मूर्ति महात्मा गान्धी जस्तै देखिएको थियोl राष्ट्रपिताको जन्मजयन्तीमा आइतबार कोलकातामा भएको दुर्गा पूजामा महात्मा गान्धीको मुर्ति ‘महिषासुर’को स्थानमा राखिएपछि विवाद चर्किएको छ। यसलाई लिएर उजुरी गरेपछि आयोजकहरुले उक्त मूर्तिको बदली गरेl आयोजकहरूले समानतालाई संयोग मात्र बताएका छन्। पौराणिक कथाअनुसार देवी दुर्गाले महिषासुरको वध गरेकी थिइन्।
अघिल्लो दिन एक पत्रकारले कोलकाता पुलिसलाई ट्याग गर्दै दुर्गा मूर्तिको तस्वीर ट्वीट गरेका थिए, तर पछि उनले चाडको समयमा तनाव सिर्जना हुनसक्ने कारणले पुलिसको निर्देशनलाई उद्धृत गर्दै सोसियल मिडियाबाट पोस्ट हटाए। पुलिसको निर्देशन पछि मुर्तिमा परिवर्तन गरेर महिषासुरको मुर्तिमा जुँगा र कपाल राख्ने बताइएको छl तृणमूल कांग्रेस भारतीय जनता पार्टी जस्ता राजनीतिक दलहरूले पनि यसलाई लिएर आलोचना गरेको छ।










