खरसाङ: खरसाङको मन्टिभियट चिया बगानमा भारतीय जनता पार्टीको सांगठनिक सभा सम्पन्न भएको छ। मन्टिभियट चिया बगानको समाज भवनमा एक महत्वपूर्ण संगठनात्मक सभा सम्पन्न भयो। उक्त सभामा ११ परिवारहरुले औपचारिक रूपमा भारतीय जनता पार्टीमा जोडिएको दाबी गरिएको छ। यस सभामा शक्ति केन्द्र प्रमुख बिराज राईको सक्रिय पहल र सहयोगमा नयाँ सदस्यहरूलाई पार्टीमा स्वागत गरिएको जानकारी प्राप्त भएको छ। सभामा खरसाङ चिम्नी देवराली मण्डल अध्यक्ष सञ्जय थापा, मण्डल उपाध्यक्ष बलिराज राई तथा दार्जिलिङ जिल्ला सचिव बिनय कुमार प्रसादको उपस्थिति रहेको थियो। पार्टीमा सामेल भएका सबै परिवारहरू पार्टीको विचारधारा, नीति तथा कार्यक्रमप्रति पूर्ण रूपमा उत्साहित र प्रतिबद्ध रहेको बताइएको छ। उनीहरूले “सबका साथ, सबका विकास, सबका विश्वास र सबका प्रयास” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै विकसित भारत २०४७ को राष्ट्रिय दृष्टिकोणलाई सफल बनाउन पूर्ण समर्थन र सक्रिय सहभागिता जनाउने दृढ संकल्प व्यक्त गरेका छन्।

यस प्रकारका संगठनात्मक कार्यक्रमहरूले चिया बगान क्षेत्रसहित सम्पूर्ण खरसाङ क्षेत्रमा पार्टीलाई थप सुदृढ बनाउने, जनसम्पर्क विस्तार गर्ने तथा राष्ट्र निर्माणको अभियानलाई नयाँ ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरिएको भाजपा खरसाङ चिम्नी देवराली मण्डल अध्यक्ष सञ्जय थापाले जानकारी गराएका छन्।










